काठमाडौँ, असोज १० गते । नेपाल र वेस्ट इन्डिजबिचको टी–२० क्रिकेट सिरिज शनिबारदेखि सुरु हुनेछ ।
सिरिजका लागि नेपाली टोलीले युएईमा शुक्रबार अन्तिम तयारी गरेको छ । नेपाल र वेस्ट इन्डिजबिच युएईमा सेप्टेम्बर २७, २९ र ३० तारिख टी–२० सिरिज हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो ।
दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।