• २७ असोज २०८२, सोमबार

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

blog

किसान विकास खड्काको बारीमा रहेको अदुवा खेती ।

गोकर्ण पौडेल 

तुलसीपुर, असोज २७ गते । तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिक रूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् । 

तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिक रूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताउनुभयो । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए । तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार रुपियाँमा खरिद गरिएको थियो । 

तुलसीपुर १९ खानीगाउँकै सबैभन्दा बढी अदुवा खेती गरेका भोजराज पुनले बजार मूल्य नपाएपछि अदुवा बारीमै रहेको बताउनुभयो । पुनले भन्नुभयो, बजार मूल्य नै छैन, अदुवा खनेर के गर्ने, त्यही भएर बारीमै रहन दिएका छौँ । पुनले २०५२ सालदेखि व्यावसायिक रूपमै अदुवा खेती गर्दै आउनुभएको छ । पुनका अनुसार यो वर्ष २५ क्विन्टल अदुवा उत्पादन हुने बताउनुभयो । 

अदुवा बिक्री नभएपछि लामो समयसम्म सुरक्षित राखेर बिक्री गर्नका लागि सुठो समेत बनाएर राख्ने गरेको पुनले बताउनुभयो । पुनका अनुसार सुठो प्रति क्विन्टल ३५ हजारदेखि ४० हजारसम्म बिक्री हुने गरेको छ । 

छिल्लीकोटका किसानहरूले मालागेडीपछि अदुवाको व्यवसायिकरूपमा खेती गर्दै आएका छन् । भिरालो जमिनमा अदुवा राम्रो फल्ने गरेको अर्का किसान विकास खड्काले बताउनुभयो । खड्काले करिब १२ कठ्ठा जग्गामा अदुवा खेती गर्नुभएको छ ।