काठमाडौँ, भदौ २९ गते । श्रीलङ्काको कोलम्बोमा सोमबारदेखि सुरु हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार रहेको प्रशिक्षक सञ्जित सिंहले बताउनुभएको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सोमबार नै घरेलु टोली श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । खेलअघि आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपालका प्रशिक्षक नेपालका खेलाडी शारिरिक र मानसिक रूपमा खेलका लागि तयार रहेको बताउनुभयो ।
‘‘हामीले प्रशिक्षणका लागि कम समय पायौँ । तरपनि खेलाडीले राम्रो खेल्नेमा विश्वास छ । नेपालको पहिलो लक्ष्य सेमिफाइनलमा स्थान बनाउनु हो,’’ प्रशिक्षक सिंहले भन्नुभयो ।
च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
नेपाली टोलीको गोलकिपरमा पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानियाँ हुनुहुन्छ । रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहनुभएको छ ।
यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान हुनुहुन्छ । स्ट्राइकरमा समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहनुभएको छ ।