• ३० भदौ २०८२, सोमबार

धमाधम स्थगित हुँदै खेलकुदका प्रतियोगिता

blog

काठमाडौँ, भदौ ३० गते । जेन–जी आन्दोलन र त्यसपछिको असामान्य अवस्थाका कारण नेपालमा आयोजना भइरहेका र आयोजनाको चरणमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित गरिएको छ । 

सामेबार (आज) र मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुन लागेको नेपाल–बङ्गलादेशबिचको अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित गरिएको छ ।

सिरिज नेपाल रग्वी सङ्घले देशको स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति सार्वजनिक गरिने पनि जनाएको छ । यसअघि सिरिजअन्तर्गत ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो । 

यस्तै जेन–जी ओन्दोलनकै कारण यसअघि पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) प्रतियोगिता पनि खेलको बिचमै स्थगित भएको थियो । खेल स्थगित भएपछि प्रतियोगिता खेल्न नेपाल खाएका विदेशका खेलाडी समेत आ–आफ्नै देश फर्किएका छन् । 

यसअघि आइतबार मात्र नेपाल भलिबल सङ्घको आयोजानमा नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल पनि स्थगित गर्ने निर्णय गरिएको थियो । 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बोर्ड अफ एड्मिनिस्ट्रेसनको बैठकले जेन–जी आन्दोलनका कारण नेपालको पछिल्लो अवस्थाका कारण प्रतियोगिता स्थगित गरेको हो । 

यस्तै नेपालगन्जमा असोज ३ गते आयोजना तय भएको नेपालगन्ज १० नाइट रन पनि स्थगित भएको छ । यी स्थगित भएका खेलकुदका प्रतिनिधि प्रतियोगिता मात्र हुन आयोजानको तयारीमा रहका अन्य प्रतियोगिता पनि जेन–जी आन्दोलन र त्यसपछि सृजना भएको असहज अवस्थाले बन्द हुने अवस्था छ ।