सुधा देव
भारदह(सप्तरी), असोज ७ गते । सप्तरीको सरकारी वकिलको कार्यालयमा दुई करोड सात लाख बराबरको क्षति भएको छ ।जेनजीको आन्दोलनको क्रममा लुटपाट, तोडफोड र आगजनी भएपछि कार्यालय प्रयोजनका लागि भएको कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, मोनिटर, प्रोजेक्टर, क्यामरा, ल्यापटप, इनभटर, सिसी क्यामरा, एसी, फ्रिज, पावर बोर्ड, हिटर, सिलिङ फ्यान, दराज कुर्सी टेवल, दराजलगायत सामग्री जलेर नष्ट भएपछि उक्त रकम बराबरको क्षति भएको हो ।
आगलागीका कारण कार्यालयको भवनको झ्याल, ढोका, वाइरिंग तथा भित्ताहरू पूर्ण रूपेन क्षति भएको कार्यालयका सह न्याधिवक्ता सुदिप कुमार दंगालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आगलागीमा सबै जलेर सखाप भयो । आठ कोठामा सञ्चालनमा रहेको कार्यलयमा आगलागी भएपछि अर्को भवनको तीनकोठामा कार्यालय सञ्चालन गर्दै आएका छौँ । कर्मचारीलाई बस्न र काम गर्न एकदमै समस्या छ ।’’
पुरानो फाईलहरू सबै जलेर सखाप भए पनि चालू आर्थिक वर्षको ८५ देखि ९० प्रतिशत फाइल जोगाउन सफल भएको कार्यालयका नायब सुब्बा धिरेन्द्र यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कार्यालयमा पार्किङ गरेर राखेको सप्तरी जिल्ला अदालत दुई वटा चारपाग्रे र उच्च अदालतको एउटा चारपाग्रे गरी तीनवटा गाडी, सरकारी मोटरसाइकल एउटा र नीजि मोटरसाइकल दुईवटा गरि ६ वटा सवारी साधन जलेर पूर्ण रूपेन क्षति भएको छ ।’’