• ७ असोज २०८२, मङ्गलबार

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

blog

कानका बिरामीको उपचारमा अब्बल बन्दै गएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज ७ गते ।
पछिल्लो समयमा कानमा समस्या भएर उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरुमा पुग्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

नेपालगन्जको एउटा स्वास्थ्य केन्द्रमा मात्रै ४० हजारभन्दा बढी कानका बिरामीले उपचार सेवा लिएपछि कानसम्बन्धी बिरामीको सङ्ख्या बढेको पुष्टि भएको हो ।  

कानका विभिन्न प्रकारका समस्याको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रले एक वर्षमै करिब ४० हजार बिरामीको कानसम्बन्धी उपचार गरेको जनाएको छ ।

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका प्रवन्धक चेतनारायण चौधरीले पश्चिम नेपालमै कान उपचारका लागि उत्तम मानिने यो स्याहार केन्द्रमा गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार ५३७ जनाको सफल उपचार गरिएको बताउनुभयो ।

उहाँका अनुसार, सेवा लिनेमा २४ हजार ५०३ जना महिला र १५ हजार ३४ जना पुरुष रहेका छन् । यस्तै, सो स्याहार केन्द्रमा ७८४ वटा कानसम्बन्धी शल्यक्रिया गरिएकोमा ५८१ वटा मेजर शल्यक्रिया रहेको प्रबन्धक चौधरीले बताउनुभयो ।

सो अस्पतालमा कानको जाली प्वाल परेका तथा कानको हड्डी खाने समस्या भएका धेरै बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका इएनटी सर्जन डा. आनन्द झाले बताउनुभयो । सोही प्रकारले उक्त अस्पतालमा २०३ वटा माइनर शल्यक्रिया गरिएको पनि जनाइएको छ ।

अस्पतालका अनुसार गत एक वर्षको अवधिमा चार हजार २७ जनाको कानको सुनुवाइ क्षमता जाँच गरिएको थियो भने ९६० जनाको ल्याब परीक्षण पनि गरिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३५ हजार ८३४ जनाले सो अस्पतालबाट उपचार सेवा लिएका थिए भने तीमध्ये ७२६ जनाको शल्यक्रिया भएको थियो तथा चार हजार २१९ जनाको सुनुवाइ परीक्षण र ९२१ जनाको ल्याब परीक्षण गरिएको थियो ।

उक्त अस्पतालमा इएनटी सर्जन डा. आनन्द झा, डा. अजय वैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले कानको जाँच, उपचार तथा शल्यक्रिया गर्दै आएको छ ।

नेपाली मात्र नभई सीमापारिका विभिन्न जिल्लाका भारतीय बिरामीहरूले पनि सो अस्पतालमा आएर उपचार सेवा लिने गरेको प्रबन्धक चौधरीले बताउनुभयो ।

नेपालगन्जमा रहेको फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा नेपाल र भारत दुबै देशका बिरामीहरुको अत्यधिक चाप रहने गरेको छ ।