गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ६ गते । नवनियुक्त चार जना मन्त्रीहरुको आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम भए पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नाम सिफारिस भएको डा. सङ्गीता कौशल मिश्राको शपथ नहुने भएको छ। राष्ट्रपति कार्यलयका सहसचिव प्रदीपकुमार कोइरालाले सोमबार स्वास्थ्यमन्त्रीको शपथ नहुने जानकारी दिनुभयो ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्राको समेत नाम स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । डा. मिश्राविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उहाँको नाम हटाएर चार जनाको मात्र नाम सिफारिस गर्नुभएको हो ।
उहाँ भन्नुहुन्छ, “प्रधानमन्त्री कार्यालयबाट आएको सिफारिसमा डा. मिश्राको नाम छैन । सिफारिस भएका नाममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्व न्यायाधीश अनिलकुमार सिंह, कृषि मन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस भएको छ ।”
१२ औं तहकी अतिरिक्त सचिव डा. मिश्राले गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । डा. मिश्रा ६ महिना बिदा बस्नुभएको थियो ।
जेनजी आन्दोलनका कारण स्वास्थ्यमन्त्री पदबाट प्रदीप पौडेलले राजिनामा दिएपछि डा. मिश्रा गत बिहीबार मन्त्रालय फर्कनुभएको थियो । डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिनुभएको मन्त्रालयले जनाएको छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिश्राले स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गर्नुभएको छ ।