रामकृष्ण बोहरा
बागलुङ, असोज ६ गते । उच्च अदालत पोखरा, बागलुङ इजलासमा दरबन्दी अनुसारका न्यायाधीश आएपछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको छ । दरबन्दी अनुसार न्यायाधीश नहुँदा अदालतले पर्याप्त मात्रामा मुद्दा फस्र्यौट गर्न सकेको थिएन । दरबन्दीका न्यायाधीश आएपछि समयमै मुद्दा फस्र्याेट गर्न सहज हुनेछ ।
मुख्य न्यायाधीश नातिबाबु लामिछाने र नवआगन्तुक सरला कुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेसहित उच्च अदालतमा न्यायाधीशको सङ्ख्या चार पुगेको छ । गैरेको नयाँ नियुक्ति हो भने पाण्डे र शर्मा सरुवा भएर आउनुभएको हो । दरबन्दी अनुसारको न्यायाधीश आएपछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको लामिछानेले बताउनुभयो ।
सरुवा भई आउनुभएका तीन जना न्यायाधीशलाई स्वागत गरिएको छ । नेपाल बार एसोसिएसन, उच्च अदालत बार एकाइको आयोजनामा न्यायाधीशहरु सरला कुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेलाई स्वागत तथा सम्मान गरिएको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा लामिछानेले न्याय सम्पादन छिटो र छरितो तथा चुस्त बनाउन बार बेञ्चको सहकार्य महत्वपूर्ण भएको बताउनुभयो । उहाँले असुरी शक्तिमाथी दैवी शक्तिको विजयस्वरुप मनाउने दशैँ जस्तै न्याय क्षेत्रमा पनि सत्यको विजय हुनुपर्ने र त्यसको अङ्गको रुपमा बारले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे, भूमिश्वर शर्मा गौतम, न्यायाधीशहरु सरलाकुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेले दरबन्दी अनुसार न्यायाधीशको व्यवस्था गर्न सके सेवाग्राहीले समयमै न्याय पाउने बताउनुभयो ।
सो अवसरमा पर्वत जिल्ला बारका अध्यक्ष पुण्यप्रसाद सुवेदी, पोखरा उच्च अदालत बारका पूर्व सचिव दुर्गेशराज पन्त, पोखरा बारकै सदस्य कमल पौडेल, उच्च बार एकाइ बागलुङका पूर्व अध्यक्ष अखिलनाथ शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोमबार घटस्थापना भएकोले आइतबारदेखि अदालतहरु बन्द रहन्छन् । दशैंको पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने अदालती चलन छ ।