राजकुमार भट्टराई
खोटाङ, असोज ६ गते । सहकारीमा कार्यरत रेश्मीका परियार कार्यालयबाट अपरान्ह ४ बजेतिर निस्किन्छन् । पैदल यात्रामा करिब एक घण्टा लाग्थ्यो कार्यालयदेखि घरसम्म पुग्न । बाटोमा एक जना किशोर भेटिन्छन् । किशोरले रेश्मीकाको श्रीमानले आफूलाई पैसा दिनु पर्ने तर नदिएको भन्दै फोन लगाइदिन आग्रह गर्छन् ।
रेश्मीकाले श्रीमानलाई फोन गर्छिन, सामान्य कुरा हुन्छ । दँशैतिर सो किशोरको पैसा दिने कुरा रेश्मीकाको श्रीमानले गर्छन् । रेश्मीका र उनका श्रीमानको यो अन्तिम कुरा भएको समय थियो अपरान्ह ४ बजेर ५३ मिनेटमा ।
यता किशोरको चाहना पैसाभन्दा पनि रेश्मीकासँग शारीरिक सम्बन्ध राख्ने थियो । श्रीमानलाई फोन गरिदिन उनको त्यो आग्रह केवल बोल्ने बाहाना मात्र थियो । ती किशोर धेरै समय अघिदेखि उनलाई बलात्कार गर्ने योजना बुनिसकेका थिए । सो दिन उनले आफ्नो योजना सफल पार्न लागि परेका थिए ।
त्यही योजनाअनुसार जङ्गलमा गएर पर्खिए । जब रेश्मीका त्यो ठाउँमा पुगिन् किशोरले रेश्मीकालाई पछाडीबाट धकेलेर सडकमुनि झारे । सडकभन्दा तल जङ्गलतर्फ भिरालो जग्गामा रेश्मीका उम्कीन पाएनिन् । करिब १६ वर्षका ती किशोर शारीरिक रुपमा बलिया थिए । सडकभन्दा करिब डेढसय मिटर तल धकेल्दै घिसार्दै लागे । त्यो बेलासम्म रेश्मीका अचेत भइसकेकी थिइन् । उनले हारगुहार मागिन्, तर त्यो सुनसान जङ्गलमा कसैले सुनेन । अचेत अवस्थामै किशोरले उनको बलात्कार गरे ।
त्यसपछि उनले रेश्मीकाकै सलले घाँटीमा कसेर हत्या गरे । रेश्मीकाको मृत शरीरमा उनले सुरुवाल लगाइदिए । पेन्टी घटनास्थलमै छुटेको हुन्छ । पेन्टी पछि झाडीमा भेटिएको थियो । बलात्कार र हत्या गरेको स्थानबाट शवलाई घिसार्दै एउटा सानो रुखसम्म लगेर घाँटीमा बाँधिएको सल रुखमा बाँधेर छाडिदिन्छन् ।
रेश्मीका बेलुकासम्म घर नपुगेपछि हराएको भन्दै खोजी भयो । ती किशोर पनि अरुसँगै खोज्न गए । सडकबाट ओरालो झाडी फाडिएको देखेपछि गाउँलेले सडकभन्दा केही तल रेश्मीकाको चप्पल भेटे । तल खोज्दै जाँदा सलले रुख र घाँटीमा बाँधिएको घोप्टो परेको अवस्थामा रेश्मीकाको शव भेटियो । उनको बलात्कार पश्चात हत्या भएको गाउँलेले अनुमान लगाएर प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्यो।
स्थानीय प्रहरी चौकीले घटनास्थल सुरक्षित राखेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । घटना हुनु अगाडि रेश्मीकाको ब्यक्तिसँग सम्पर्क वा भेट भएको थियो भन्ने कोणबाट प्रहरीले अनुसन्धान गर्यो । रेश्मीकासँग किशोरको कुरा भएको गाउँलेले देखेका थिए ।
सोहीअनुसार ती किशोरलाई केही थाहा हुन सक्छ भनेर प्रहरीले सोधपुछ गर्छन् । किशोरको हातमा चोट थियो । त्यसपछि प्रहरीको अनुसन्धान सोही किशोरतर्फ सोझियो । अन्त्यमा सोही किशोरले योजनाबद्ध तरिकाले बलात्कार गरी अरुले थाहा पाउने डरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शुसान्त मिश्रको भनाइ छ ।
किशोरलाई तत्काल पक्राउ गरी प्रहरीले जिल्ला ल्याएको छ । रेम्शीको परिवारबाट जाहेरी दर्ता गरेर किशोरलाई अदालती प्रक्रियामा अघि बढाइसकिएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । घटनालाई सबै कोणबाट अनुसन्धान गर्दा पक्राउ परेका किशोर मात्र घटनामा संलग्न रहेको देखिएको उहाँको भनाइ छ ।
सामूहिक बलात्कार पश्चात हत्या हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि किशोर एक्लैले योजनाबद्ध तरिकाले बलात्कार पश्चात हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । विभिन्न मिडियामै ५ जनाले सामूहिक बलात्कार पश्चात हत्या गरेको भन्ने गलत प्रचार भएको थियो । ती मिडियामा आएजस्तो नभएको र आफूहरुले पनि सो गलत सूचना कसैलाई नदिएको प्रहरीले जनाएको छ ।
घटनामा दोषी किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ । किशोर १८ वर्ष भन्दा कम उमेरको भएकाले कानुनअनुसार उनको नाम खुलाउन नमिल्ने प्रहरीले जनाएको छ । रेश्मीकाको घरभन्दा करिब डेढ किलोमिटर टाढा घर रहेका सार्की थरका किशोर रहेको बुझिएको छ ।
घटना हो, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियार सोही गाउँपालिका ५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा काम गर्दैआएकी थिइन् ।
भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा बलात्कार पश्चात हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो । एक छोरीको आमा समेत रहेकी रेश्मीकाको बलात्कार पश्चात हत्या भएको घटनाले गाउँ त्रसित बनेको स्थानीय गोपालचन्द्र राईले बताउनुभयो । दोषीलाई कानुनअनुसार कडा कारबाहीमो माग गाउँलेले गरिरहेका छन् ।