• ६ असोज २०८२, सोमबार

प्रमद्वारा पाँच जना मन्त्री सिफारिस

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ६ गते  । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस हुनुभएको छ । उहाँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । 

त्यसै गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा महावीर पुन सिफारिस हुनुभएको छ । उहाँ राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक एवं वैज्ञानिक अनुसन्धाता हुनुहुन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार सिफारिस हुनुभएको छ । उहाँ समता फाउन्डेसनका अध्यक्ष तथा संविधान सभाको राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका अध्यक्षको जिम्मेवारीमा रहिसक्नुभएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा सिफारिस हुनुभएको छ । उहाँ स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल सिफारिस हुनुभएको छ । अढाइ दशकभन्दा लामो समय पत्रकारिता गर्नुभएका उहाँ इमेज टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्थ्यो ।