संयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । अफ्रिकी सङ्घ (एयू), युरोपेली सङ्घ र संयुक्त राष्ट्रका उच्चस्तरीय प्रतिनिधिले आइतबार संयुक्त राष्ट्र मुख्यालयमा भेला भएर आजका विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय साझेदारीलाई सबैभन्दा प्रभावकारी उपायको रूपमा पुनः पुष्टि गर्नुभएको छ ।
बैठकमा एयू आयोगका अध्यक्ष महमूद अली युसुफ, युरोपेली परिषद्का अध्यक्ष अन्तोनियो कोस्ता, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन र संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेससहित ती तीन सङ्गठनका वरिष्ठ प्रतिनिधिले सहभागिता जनाउनुभएको थियो ।
तीन सङ्गठनले जारी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानवअधिकारको सम्मानमा देखिएको कमीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र सन्धिको पूर्ण पालना आवश्यक रहेकोमा जोड दिनुभएको छ । बैठकमा विशेष गरी सुडानमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने विषयमा संवेदनशीलता र गम्भीरताका साथ छलफल भएको थियो ।
साथै, आतङ्कवादी सशस्त्र समूहको विरुद्ध सङ्घर्षलाई अझ सुदृढ पार्ने, सहिष्णुता प्रवर्धन गर्ने र विकासका लागि आवश्यक पहल गर्ने विषयमा विचारविमर्श गरिएको थियो । तीनै सङ्गठनले लिबियामा राजनीतिक प्रक्रिया पुनः जीवित गर्न संयुक्त राष्ट्रको रोड म्यापलाई पूरा समर्थन जनाएको छ ।
पूर्वी कङ्गो लोकतान्त्रिक गणराज्यका शान्ति पहल, सोमालियामा अफ्रिकी सङ्घको समर्थन तथा स्थिरीकरण मिसनलाई साथ दिने विषयमा पनि सकारात्मक छलफल भएको थियो । त्यस्तै, अफ्रिका र विश्वका अन्य भागमा शान्ति अभियान्त्रणको पुनरवलोकन गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।
तीन सङ्गठनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव अनुसार अफ्रिकी सङ्घ नेतृत्वमा शान्ति समर्थन कार्यका लागि वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्न आग्रह गरेका छन् । अफ्रिकामा दिगो शान्ति र विकासको लागि संयुक्त प्रतिबद्धता पनि पुनः व्यक्त गरिएको छ ।
साथै, विकासका लागि वित्तीय स्रोत जुटाउन, लगानी प्रवद्र्धन गर्न र विकासशील देशका ऋण समस्या समाधान गर्न सिविल्ला प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा सबैको सहमति थियो । जी-२० को दक्षिण अफ्रिका अध्यक्षतामा बहुपक्षीय विकास बैंकको सुधार र ऋण व्यवस्थापनमा थप प्रगति आवश्यक रहेको कुरामा पनि बैठकमा सहमति भएको छ ।
जलवायु परिवर्तनका कारण संसारभर देखिएका चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी नवेम्बरमा ब्राजिलमा आयोजना हुने कोप ३० सम्मेलनमा महत्वाकांक्षी प्रतिबद्धता गर्न आह्वान गरिएको छ । तीन सङ्गठनले आगामी वर्ष सन् २०२६ मा संयुक्त राष्ट्र महासभाको ८१ औं सत्रको अवसरमा फेरि बैठक बस्ने सहमति पनि व्यक्त गरेका छन् । रासस/सिन्ह्वा