धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ६ गते । दसैँ मनाउन विभिन्न योजना बनाइएका ३८ वटा पालिकाका कर्मचारीको दसैँ खल्लो हुने भएको छ । ती पालिकाले आफूमातहतका कर्मचारीलाई दसैँमा पनि तलब र भत्ता उपलब्ध गराउन नसक्ने भएका छन् । ती पालिकामा करिब ११ हजार चार सय कर्मचारी कार्यरत छन् ।
दसैँअघि अब पाँच दिन मात्र कार्यालय लाग्छ । त्यसपछि दसैँको बिदा सुरु हुन्छ । यसबेला पालिकाले बजेट पेस गरिहाले पनि तलब निकासा हुने समय नपुग्ने राजविराज नगरपालिकाका लेखा अधिकृत शत्रुधन दासले बताउनुभयो । चालु आर्थिक वर्षको तेस्रो महिना असोजको ५ गतेसम्म प्रदेशका ३८ पालिकाले चालु आव २०८२/८३ का लागि बजेट ल्याउन सकेको छैन । चालु वर्षको लागि गत आव २०८१/८२ को असार १० गतेभित्र नै बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ तर मधेश प्रदेशभित्रका ३८ पालिकामा जनप्रतिनिधिबिचको आन्तरिक विवाद तथा समस्याका कारण अहिलेसम्म बजेट ल्याउन नसकेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र ब्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्नेछ । सोही दफाको उपदफा ६ मा पेस भएको बजेट असार मसान्तभित्र सभाले पारित गरिसक्नुपर्ने उल्लेख छ ।
मधेश प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ पालिका छन् । तीमध्ये ९८ वटा पालिकाले बजेट ल्याइसकेका छन् भने एक उपमहानगरपालिका, १८ नगरपालिका र १९ गाउँपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलका अनुुसार सिराहाको १७ मध्ये तीन, सर्लाहीको २० मध्ये पाँच, रौतहटको १८ मध्ये पाँच, बाराको १६ मध्ये चार र पर्साको १४ मध्ये पाँच पालिकाले बजेट पेस गर्न सकेका छैनन् ।