नवीनराज कुइँकेल
लमजुङ, असोज ६ गते । देशका विभिन्न सहरमा दशैंतिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा आए पनि लमजुङमा भने सञ्चालनमा आउन सकेको छैन ।
सरकारले देशभरका एकसय ५१ स्थानमध्ये लमजुङको सुन्दरबजारमा सुपथ मूल्यको पसल सञ्चालन गर्न तोकेको छ । पसल सञ्चालनमा नआएपछि उपभोक्ताहरु निराश छन् ।
गण्डकी प्रदेशका सात स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भनिए पनि दशैं सुरु भैसक्दा पनि लमजुङको सुन्दरबजारमा भने पसल सञ्चालनको सुरसार गरिएको छैन । पसल कसले सञ्चालन गर्ने हो भन्नेमा सरकारी निकायहरु नै अन्योलमा छन् ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले लमजुङमा सुपथ मूल्य पसल खोल्ने विषयमा आफूहरुलाई कुनै जानकारी नआएको बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य संस्थानका शाखा लमजुङमा नभएकाले सुपथ मुल्यका पसल सञ्चालन हुन नसकेको हुनसक्ने उहाँले बताउनुभयो ।
सरकारले घोषणा गरे पनि जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा नआएको र तत्काल सञ्चालन गनुपर्ने सुन्दबरजारका व्यवसायी एवं चेम्बर अफ कमर्स गण्डकी प्रदेशका सचिव विष्णुकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले सहजीकरण गरेर भए पनि पसल सञ्चालनमा ल्याएमा उपभोक्ताले राहत पाउने सरोकारवालाहरु बताउँछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका एकसय ११ स्थानमा र साल्ट ट्रेडिङले ४० वटा बिक्री स्थलमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने घोषण गरेको थियो । गण्डकी प्रदेशको सात स्थानमा सुपथ मूल्य पसल खोल्ने भनेकोमा लमजुङको छिमेकी जिल्ला मनाङमा सुरु भइसकेको छ ।