• ६ असोज २०८२, सोमबार

दुई सय ९३ कैदीबन्दी कैलाली कारागार फर्के

blog

कैलाली कारागार ।

अविनाश चौधरी
धनगढी, असोज ६ गते ।
कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कने क्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

धेरैजसो कैदीबन्दी आफैँ फर्केर आएको र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । थप अरु कैदीबन्दी पनि सम्पर्क आइसकेको उहाँको भनाइ छ ।

सापकोटाका अनुसार ३३ महिलासहित २९३ कैदीबन्दी कारागार फर्किसकेका छन् । फर्केकामध्ये तीन जना कैद भुक्तान गरेर छुटेका छन् । बाँकी रहेको २९० जनामध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको जेलर सापकोटाले बताउनुभयो ।

जेनजी आन्दोलनको क्रममा कारागारबाट ६६० जना कैदीबन्दी दिउँसो र बाँकी रहेकामध्ये छ जना राति फरार भएका थिए । कारागारमा रहेका ६६७ मध्ये एक जना कैदीबन्दी मात्रै नभागेको कारागार प्रशासनले जानकारी दिएको छ । भागेकामध्ये १७ भारतीयसहित ३७३ कैदीबन्दी अझै फरार रहेका जनाइएको छ ।