केशवराज भट्ट
वासुलिङ (बैतडी), असोज ६ गते । दशैंको नवरात्र सुरु भएसँगै बैतडीका डाँडा, पाखा र वनजङ्गल देवी–भक्तिको सुगन्धले परिपूर्ण हुन थालेका छन् । जिल्लाभरिका १६ बहिनी भगवती देवीमध्ये बैतडीमा मात्रै निङ्गलाशैनि, रणशैनी, त्रिपुरासुन्दरी, पोटलाशैनि, डिलाशैनि, कफलाशैनि, बोदलाशैनि र भागाशैनि गरी सात बहिनी दुर्गामन्दिर छन् ।
यतिबेला यी मन्दिरहरू रंगीन सजावट, धूपबत्तीको सुगन्ध र देवीगाथाको स्वरले उज्यालो भएका छन् । १२ औँ शताब्दीतिर नै स्थापना भइसकेका यी मन्दिरहरूको उल्लेख हिमखण्डको स्कन्दपुराणमा पनि पाइन्छ ।
पौराणिक विश्वास अनुसार दुर्गाका सात बहिनीहरू यही जिल्लाका विभिन्न भूभागमा अवतरित भई शक्तिपीठ स्थापना गर्नुभएको विश्वास गरिन्छ । त्यसैले यी मन्दिरहरू स्थानीय मात्र नभई देशभरका श्रद्धालुका लागि आस्थाको केन्द्र बनेका छन् ।
दशैंको पहिलो दिन सोमबार घटस्थापनादेखि नै दर्शनार्थीहरूको भीड लागेको थियो । निङ्गलाशैनी भगवति मन्दिरका पुजारी देबदत्त भट्टले बताए अनुसार, शक्तिपीठहरूमा वैदिक मन्त्रसहित घट राख्ने, देवीको गाथा वाचन गर्ने र दशमीसम्म निरन्तर पूजाआजा गर्ने परम्परा चलिरहेकै छ ।
धार्मिक आस्थासँगै यी मन्दिरहरूले बैतडीको मौलिक सांस्कृतिक पहिचानलाई पनि जोगाइराखेका छन् । स्थानीय दशरथचन्द नगरपालिका–२ का दत्तराज पाण्डेले बताए अनुसार देवीको उपासनासँगै लोकगीत–नृत्य, देवीगाथा वाचन, झाँकी प्रदर्शन र सामूहिक भोजले गाउँघरमा चाडपर्वको रौनक झल्काउँछ ।
पुराना बुढापाकाले बालबालिकालाई देवीका कथा सुनाइदिने, परम्परागत खेल–नृत्य सिकाउने परम्परा अझै जीवित छ । यसरी नवरात्राले पुस्ता–पुस्ताबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको पाण्डेले बताए । पर्यटनको दृष्टिले पनि यी मन्दिरहरू अनुपम सम्भावना बोकेका छन् ।
हिमालको गोद, हरिया वनजङ्गल र शुद्ध वातावरणबीच अवस्थित यी शक्तिपीठहरू धार्मिक पर्यटनका लागि प्राकृतिक सम्पदा हुन् । भक्तजनका लागि यातायात, बसोबास, सरसफाइ र प्रचार–प्रसारमा सुधार भए बैतडी धार्मिक पर्यटनको नक्सामा उदाउनेछ भन्ने स्थानीयहरू विश्वास गर्छन् ।
गोपाल बोहराले चुनौतीको सङ्केत गर्दै भन्नुभयाे, "दशैंमा बढ्दो भीड व्यवस्थापन, बलिप्रदानको शैली, प्लास्टिकको प्रयोग र मन्दिर परिसरको सफाइमा सचेतना बढाउन आवश्यक छ ।" प्रकाश चन्द, नागरिक समाजका अगुवा, धर्म–सांस्कृतिक धरोहर जोगाउँदै पर्यटनलाई दिगो बनाउने जिम्मेवारी स्थानीय समुदाय र सरकार दुवैको भएको बताउनुहुन्छ ।
यी चुनौतीबीच पनि नवरात्रामा बैतडी आउने जो कोही भक्तजन, देवीको दर्शनसँगै यहाँको मौलिकता, प्राकृतिक सौन्दर्य र स्थानीय अतिथि सत्कारबाट मोहित हुन्छन । भारतको पिथौरागढबाट आएका नीलकण्ठ भाटियाले भन्नुभयो, "पुरानो किंवदन्ती सुन्दै, पहाडी हावामा देवीगाथा सुन्दै, मन्दिर वरिपरि घुम्दा श्रद्धा र आनन्द दुवै अनुभव हुन्छ ।"
नवरात्रामा आस्था, संस्कृति र पर्यटनको यस्तो सङ्गम भेट्दा भक्तजन मात्र होइन, स्थानीय बासिन्दा पनि गर्व महसुस गर्छन् । नागरिक समाजका अगुवा भन्नुहुन्छ, यी मन्दिरहरूको संरक्षण र प्रचार–प्रसारमा साझा पहल भए बैतडीका सात बहिनी दुर्गामन्दिरहरू देश–विदेशका भक्तजनका लागि अझ आकर्षक गन्तव्य बन्न सक्छन् ।