• ६ असोज २०८२, सोमबार

नाग्म गमगढी राजमार्गको कालोपत्रे रोकियो

blog

नाग्म गमगढी राजमार्गको अवस्था । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज ६ गते । पर्यटकहरुको मुख्य गन्तव्य रहेको नेपाली भाषाको उद्गम स्थल सिंजा र रारा जाने बाटोमा बजेट अभावले स्तरवृद्धि हुन सकेको छैन । यस सडकमा आउने बजेट योजना अनुसारको प्रयाप्त विनियोजन नहुँदा स्तरवृद्धि हुन सकेको छैन । 

नाग्मदेखि गमगढी क्षेत्रको ९३ किलोमिटरमा आर्थिक वर्ष २०८०-०८१ मा ६ किलोमिटर कालोपत्र भएपनि बजेट अभावका कारण आर्थिक बर्ष २०८१-०८२ मा कालोपत्रे तथा स्तरवृद्धि हुन सकेन । 

सडक स्तरवृद्धि हुन नसकेका कारण रारा तथा सिंजामा जाने पर्यटकहरुले सास्ती भोगेका छन् । सडक बर्खा समयमा हिलो र हिउँदे सिजनमा धुलो हुने भएकाले यात्रुलाई समस्या भएको हो । सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण गत वर्ष नाग्म गमगढी राजमार्ग कालोपत्र अगाडि बढाउन नसकिएको बताएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंहका अनुसार गत वर्ष बजेट अभावका कारण कालोपत्रेको कामलाई अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पनि बजेट कम विनियोजन भएको छ तर दायित्व पनि उत्तिकै छ । इन्जिनियर सिंहका अनुसार पहिले कनकासुन्दरी गाउँपालिका पाण्डपगुफा क्षेत्रदेखि हाटसिञ्जा सम्म ६ किलोमिटर कालोपत्रे गरिएको थियो । तर पछिल्लो पटक बनाउनुपर्ने सड्क क्षेत्र बढी, बजेट कम भएका कारण कालोपत्रेसहितका काम गर्न नसकिएको हो । 

सडक डिभिजन कार्यालयका अनुसार यस पटक पनि सरकारले यस सडकका लागि बजेट रु. २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । तर यो बजेट कालिकोटको रताडा, गाल्जे, नाग्म गमगढी र नाक्चे लाग्नासम्म खर्च गर्नुपर्ने हुन्छ । 

यसैगरी, सडक डिभिजन कार्यालय जुम्लाले यस क्षेत्रमा कालो पत्रे गर्ने योजना बनाइरहे पनि बजेट अभावले हैरान बनाएको छ । बाटो स्तरवृद्धि नहुँदा राराराताल घुम्न आएका पर्यटक फर्किदा बिरामी भएर गएको घटना दोहोरिरहेका छन् । पर्यटक शुसिला चौधरीले रारा र सिंजा जस्तो ठाउँमा जाने बाटो अहिलेसम्म राम्रो नवन्दा अच्चम लागेको बताउनुभयो । उहाँले यति सम्भावना बाेकेको स्थानमा हिलो बाटोका कारण बाटोमै रोकिनुपर्ने बाध्यताले हैरान बनाएको बताउनुभयो । उहाँले नाग्म गमगढी राजमार्गको कसैले पनि ध्यान दिएका छैनन् । 

कर्णाली राजमार्गको गगनेखोलामा पहिरोमा परेर ३ दिन बाटोमै बस्नुपरेको बाध्यता सुनाउनुभयो । यात्रुलाई मात्रै होइन सिंजा क्षेत्रमा उत्पादित स्याउ बाटो राम्रो नभएका कारण बाहिर लान  समस्या भइरहेको स्थानीयको भनाइ छ । 

हिमा गाउँपालिका वडा ५ निवासी विकास रोकाया भन्नुहुन्छ । सडक हिलाम्मे भएकाले यहाँ उत्पादन भएको स्याउका गाडी जिल्ला बाहिर लैजान  किसानलाई हैरान भएको छ । गाडीभाडा बढेको छ, सडक राम्रो नभएका कारण भनेको समयमा सदरमुकाम जाने साधन पाउन कठिन भएको छ । त्यसैले नाग्म गमगढी राजमार्गलाई बजेट विनियोजन आवश्यक छ ।