• ६ असोज २०८२, सोमबार

जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु

blog

टोकियो, असोज ६ गते । निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ । यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको छ ।

अक्टोबरको सुरुआतमा हुने मतदानअघि एलडिपी नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । ‘परिवर्तन, एलडिपी’ भन्ने नारासहित सुरु भएको यो दौड पार्टीको भविष्यका लागि महत्वपूर्ण मानिएको छ । गत वर्ष एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइटो दुवैले ठूलो घाटा बेहोरेपछि अब नयाँ नेताले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसदमा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ ।

एलडिपी अझै पनि संसद्को सबैभन्दा ठूलो दल भएकाले नयाँ नेता प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । तर नयाँ प्रधानमन्त्रीले विपक्षी दलसँग सहकार्य नगरे अविश्वास प्रस्ताव र छोटो अवधिका सरकारको जोखिम सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरुले दिएका छन् । अक्टोबर ४ मा हुने मतदान सर्वसाधारणका लागि खुला छैन । 

यसमा दुई सय ९५ एलडिपी सांसद र करिब १० लाख भुक्तानी सदस्य मात्र सहभागी हुनेछन् । यो जापानको कुल मतदाताको एक प्रतिशतभन्दा कम हो ।  पहिलो चरणमा कसैले बहुमत पाएन भने शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । नयाँ नेताले प्रधानमन्त्री बन्न संसदीय मतदानमा केही विपक्षी सांसदको समर्थन पनि जुटाउनुपर्नेछ ।

प्रतिस्पर्धामा रहेका पाँचै उम्मेदवार पूर्व वा हालका मन्त्री हुन् । उनीहरूले आफूलाई मध्यम रूढीवादी भन्दै विपक्षीसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएका छन् । सोमबारको संयुक्त कार्यक्रमले अर्थतन्त्र र आप्रवासन नीतिमा कडा उपायलाई प्राथमिकतामा राखेको छ । कृषिमन्त्री शिन्जिरो कोइजुमी र पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई प्रमुख दावेदार मानिएको छ ।

चवालिस वर्षका शिन्जिरो कोइजुमी लोकप्रिय पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहुन्छ । उहाँले गत वर्ष इसिबासँग प्रतिस्पर्धा गर्नुभएको थियो र यस पटक दोस्रो प्रयास गरिरहनुभएको छ । कृषिमन्त्रीका रूपमा उहाँले मूल्य नियन्त्रणका लागि आपत्कालीन चामल भण्डार जारी गर्नुभएको थियो । जनताको आवाज नजिकबाट सुन्ने वाचा गर्दै उहाँले पार्टी सुधार र सार्वजनिक सुरक्षामा जोड दिनुभएको छ । विजयी भएमा उहाँ सन् १८८५ पछि जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नुहुनेछ ।

६४ वर्षकी साना ताकाइची पूर्वप्रधानमन्त्री शिन्जो आबेकी नजिककी सहयोगी हुनुहुन्छ । गत वर्ष रनअफमा इसिबासँग पराजित हुनुभएकी उहाँले बलियो सेना, विकासका लागि सार्वजनिक लगानी र परम्परागत पारिवारिक मूल्यको पक्षमा आवाज उठाइरहनुभएको छ । महिला सम्राटको विरोध गर्ने ताकाइचीले विवाहित जोडीलाई छुट्टै थर राख्न दिने कानुनी संशोधनको समर्थन गर्नुभएको छ ।  निर्वाचित हुनुभयो भने उहाँ जापानको पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ ।

चौँसठ्ठी वर्षीय योशिमासा हयासी इसिबाको सरकारका मुख्य क्याबिनेट हुनुहुन्छ । मध्यमार्गी धारका हयासीले स्थिर ज्याला, बलियो अर्थतन्त्र र रक्षा सुदृढीकरणको वाचा गर्नुभएको छ । हार्वर्ड–शिक्षित उहाँ अङ्ग्रेजीमा धाराप्रवाह हुनुहुन्छ र ‘गिन्स’ नामक पप ब्यान्डका सदस्यसमेत हुनुहुन्छ । उन्सत्तरी वर्षीय तोशिमित्सु मोतेगीले विदेश तथा व्यापार मन्त्रीका रूपमा सेवा गरिसक्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा कडा व्यापार वार्ताकारका रूपमा परिचित मोतेगी जापान–अमेरिका गठबन्धनलाई अझ गहिरो बनाउनुपर्ने पक्षधर हुनुहुन्छ ।

पचास वर्षीय ताकायुकी कोबायाशी पूर्व आर्थिक सुरक्षामन्त्री हुनुहुन्छ । अति रूढीवादी धारका उहाँ बलियो विकास, राष्ट्रिय एकता र विदेशी कामदारमा कडा प्रतिबन्धका पक्षधर हुनुहुन्छ । उहाँले रक्षा खर्च दुई प्रतिशतभन्दा कम नहुने वाचा गर्नुभएको छ । ताकाइची विजयी भएमा जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ । तर उहाँको युद्धकालीन इतिहाससम्बन्धी दृष्टिकोणले चीन र दक्षिण कोरियासँगको सम्बन्ध जटिल बनाउन सक्ने विश्लेषकहरूको चेतावनी छ । उहाँले भने चीनसँग राम्रो सम्बन्ध चाहेको दाबी गर्नुभएको छ ।

जापान हाल सुरक्षा चुनौतिबिच छ र अमेरिकाबाट थप रक्षा खर्चको माग बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा विपक्षीसँग सहकार्य महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ । जापान इनोभेसन पार्टी (इशिन) र डेमोक्रेटिक पार्टी फर द पिपुल जस्ता दलहरूसँग सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गर्ने देखिन्छ । कोइजुमीले हालै इशिन नेतासँग ओसाका एक्सपोमा भेट गर्नुभएको थियो भने हयासीले वरिष्ठ इशिन सांसदसँग रात्रिभोज गर्नुभएको थियो । मोतेगीले पनि यी दुई दलसँग गठबन्धन गर्ने इच्छा प्रकट गर्नु भएको छ । रासस/एपी