• ६ असोज २०८२, सोमबार

चेतन राईको गीति सङ्ग्रह “स्पिड”को लोकार्पण

blog

काठमाडौँ, असोज ६ गते । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह “स्पिड”को लोकार्पण गरिएको छ र साथै त्यस एल्वमभित्रको “हाँसि देउन” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

राजधानीमा आयोजित कार्यक्रममा गायक राईको स्पिड गीति सङ्ग्रह र हाँसि देउन बोलको म्युजिक भिडियोको वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी, प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रुपमा गर्नुभएको हो ।  

सङ्गीतकार सिंहले चेतन राईका नयाँ गीति सङ्ग्रहले सफलता पाओस् नेपाली सङ्गीत बजारमा छाओस् भन्दै सफलताका लागि शुभकामना दिंदै गीत लेखन, सङ्गीत र गायनमा समेत आफुलाई व्यस्त बनाइरहेकोले बहुमुखी प्रतिभाका धनी हुँदा उहाँको भविष्य सुन्दर रहेको बताउनुभयो । गीतकार लोकराज अधिकारीले तीन दशक अघि देखि चेतनसँगको भेटघाट भइरहेकोले उहाँको प्रतिभालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । 

उहाँले  पछिल्लो समयमा दुइ वटा गीतमा पनि सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै उक्त गीति सङ्ग्रहमा भएका गीतहरुलाई स्रोता-दर्शकले मन पराउने आशा व्यक्त गर्नुभयो । सङ्गीतकार श्रेष्ठले डेढ दशकदेखि आफूले चेतनलाई चिनेको र निरन्तर सङ्गीतकर्मसँग जोडिदै चुपचाप काम मात्र गरिरहने सङ्गीकर्मी व्यक्तित्वका रुपमा पहिचान बनाएको बताउनुभयो ।

“हाँसि देउन” बोलको म्युजिक भिडियोमा  सुजन सुवेदी, ज्योति खड्काको अभिनय रहेको छ । लोकराज अधिकारीको रचना, चेतन राईको गायन, सङ्गीत र निर्देशनमा तयार गरिएको म्युजिक भिडियोको छायाङ्कन सविन तिमल्सिना र सङ्गीत संयोजन सबिर कार्कीले गर्नुभएको हो । गायक चेतन राईले सङ्गीत क्षेत्र आफ्नो कर्मक्षेत्र रहेको र निरन्तर काम गरिरहने जानकारी दिंदै आगामी दिनमा पनि दर्शक-स्रोतामाझ नेपालीपनको गीतका साथ आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।