• ६ असोज २०८२, सोमबार

नवलपरासीमा एक चिकित्सक सहित १४ जना विरुद्ध मुद्दा दायर

blog

विकास अधिकारी

नवलपरासी, असोज ६ गते । जेनजी आन्दोलनको दोस्रो दिन पश्चिम नवलपरासीमा भएको तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा १४ जना विरुद्ध मुद्दा दायर भएको छ । 

सुनवल, बर्दघाट र प्रतापपुरमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत परासीमा मुद्दा आपराधिक उपद्रोमा मुद्दा दायर गरेको हो । हाल सम्म २४ जनालाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकी दश जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) विरदत्त पन्तले जानकारी दिनुभयो । जनप्रतिनिधिको व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गरेको अभियोगमा प्रमाण पुगेकाहरूलाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

मुद्दा चलाइएकामा सुनवलका नगर प्रमुख विमला अर्यालको घरमा तोडफोड गर्ने तीन जना सहित बर्दघाट र प्रतापपुरमा जनप्रतिनिधि तथा नेताको व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्ने ११ जना रहेका छन् ।

जसमा बर्दघाटको चिसापानी अस्पतालमा काम गर्ने एक जना चिकित्सक समेत रहेका छन् । पक्राउ परेकाहरू अधिकांश जेनजी  उमेर समुहभन्दा माथिका रहेको बताईएको छ ।

जेनजीको नाममा व्यक्तिगत सम्पत्तिमा प्रतिशोधका आधारमा लुटपाट र आगजनी गरेर आतङ्क मच्चाएको भन्दै जिल्लाका राजनैतिक दल र जनप्रतिनिधिहरूले दोषीलाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

प्रहरीले अहिले व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गर्नेमाथि अनुसन्धान गरिरहेको जनाएको छ । जिल्लामा उक्त दिन पाँच दर्जन बढी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।