• ५ असोज २०८२, आइतबार

कांग्रेस मुख्यालयसहित ४८ भवन र नेताका ९५ निवासमा क्षति

blog

आगजनीबाट क्षतिग्रस्त काँग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौँ, असोज ५ गते । २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।

प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित  उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । 

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।

यसैगरी,  कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ । रासस