• ५ असोज २०८२, आइतबार

दसैँअघि तातोपानी नाकाबाट चिनियाँ सामान नआउने, व्यापारी निराश

blog

विदुर आचार्य

चौतारा, असोज ६ गते । दसैँको समयमा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएपछि नेपाली बजारमा चिनियाँ सामानको अभाव हुने भएको छ । दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्ड पहिरोका कारण अवरुद्ध छ । पहिरोले हजार बढी कन्टेनर अलपत्र परेका छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा नेपाल आइपुग्ने सम्भावना झनै टाढिएको छ । 

व्यवसायीका अनुसार चीनको न्यालम, ढिंग्रे, खासा र जाङ्बु पोर्ट तथा नेपालतर्फ लिपिङ, कोदारी, तातोपानी र भन्सार क्षेत्रमा करिब १५ सयभन्दा बढी कन्टेनर रोकिएका छन् । रोकिएका कन्टेनरमा फलफूल, खाद्यान्न, मसलालगायत चाडपर्वका लागि अत्यावश्यक सामग्री रहेका छन् । सिल्क ट्रान्सपोर्टका प्रोपाइटर विजय शेर्पाले भन्नुचयो, ‘दसैँको तयारी गर्दै हामीले चीनबाट सामग्री मगाएका थियौं, तर पहिरोका कारण ती कन्टेनर न चीन फर्कन सकेका छन्, न नेपाल आउन सकेका छन् । कतिपय फलफूलहरू गाडीमै कुहिन थालेका छन् ।’ 

सडक विभागका अनुसार अरनिको राजमार्ग अन्तर्गत डाक्लाङदेखि लिपिङसम्मका विभिन्न स्थानमा झन्डै ५०० मिटर सडक भासिएको छ । भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार, ‘सडक भासिनुको मुख्य कारण तलबाट भोटेकोसीको कटान र माथिबाट निरन्तर झर्ने लेदो र ढुंगा हो ।’

रसुवागढी नाका असार २४ गते आएको बाढीपछि पूर्ण रूपमा ठप्प भएको छ  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्नुहुन्छ, ‘तातोपानी नाका रसुवा बन्द हुँदा विकल्पको रूपमा प्रयोग हुने नाका हो, तर राज्यको नजर यहाँ कहिल्यै पुग्न सकेन । बारम्बार पहिरो जाँदा व्यवसायी हरेक वर्ष मारमा परिरहेका छन् ।’