धर्बेन्द्र झा
जनकपुरधाम, असोज ५ गते । धनुषाको तीन पालिकामा सञ्चालित समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको परियोजनाको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
अस्ट्रेलियन ऐड र सिविएमको आर्थिक एवम प्राविधिक सहयोगमा लाइफ नेपाल र अपाङ्ग समाज जनकपुरधामको सहकार्यमा सञ्चालित उक्त परियोजनाको आइतबार जनकपुरधाममा भएको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरुले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका र औरही गाउँपालिकामा सो परियोजना सञ्चालन भएपछि अपाङ्गता भएका व्यक्तिहरुले आफनो अधिकारको बारेमा जानकारी प्राप्त गरी स्थानीयस्तरमा आफनो अधिकार खोजबिन गर्न थालेकोे बताएका थिए ।
सहभागीहरुले स्थानीयतहमा निर्माण हुने बजेट तथा कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रमहरु राख्न आफूहरुले दवाव दिने गरेको भन्दै विगतको तुलनामा अब धेरैै सुधार भएको बताएका थिए । कार्यक्रममा सहभागी भएका अपाङ्गता भएका व्यक्ति विक्रु दासले जलवायु उत्थानशील सामुदायिक विकास परियोजनामार्फत जिविकोउर्पाजनका लागि लाइफ नेपालले उपलब्ध गराएको अनुदानले आफूहरुको जीवनमा आमुल परिर्वतन ल्याएको भन्दै यस प्रकारका कार्यक्रम स्थानीय सरकारमार्फत सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी सलमा खातुनले जलवायु उत्थानशील सामुदायिक विकास परियोजनामार्फत आफूहरुलाई दिएको सीपले रोजगार सिर्जना भएको भन्दै यस प्रकारको परियोजनाको निरन्तरता हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय सरकार प्रमुखहरुले जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउनुको साथै स्थानीय सरकारलाई समेत धेरै कुरा सिकाएको कारण अपाङ्गता भएका व्यक्तिको हितमा स्थानीय सरकारले आउने दिनमा विभिन्न किसिमका कामकाज गर्न लागेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका नगर उपप्रमुख किशोरी साहले जनकपुरधाम उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको सातसय कार्ड जारी गरी उनीहरुको लागि कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । मिथिला विहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आफनो पालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि आठ लाखको सामग्री वितरण गरेको बताउनुभयो ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा औरही गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साह, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका मधेश प्रदेश अध्यक्ष किरण पासवानसहितका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।