• ६ असोज २०८२, सोमबार

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई पब्लिक हेल्थ च्याम्पियन अवार्ड

blog

काठमाडौँ, असो ६ गते । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ का विजेताहरू घोषणा  गर्दै  यस्तो जानकारी गराएको हो । 

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)ले यसै वर्ष स्थापना गरेको यो अवार्डबाट नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सहित  भारतका डा.सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटी पनि सम्मानित हुने भएका छन् । 

एफसीएचवी कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारसँगै खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनुका साथै नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ ।

नेपालमा सन् १९९० मा प्रति एक लाख जिवित जन्ममा ९०१ रहेको मातृ मृत्युदर सन् २०२१मा घटेर १५१ मा झरेको छ । बाल मृत्युदर प्रति हजारमा १६२ बाट घटाएर २८ मा झरेको छ । डब्लुएचओ सेरोले यस्तो प्रगती हासिल हुनुमा एफसीएचवीको महत्वपूर्ण भूमिका रहेको बताएको छ । 

यो पुरस्कार यसै वर्ष जुन महिनामा घोषणा गरिएको थियो । बङ्गलादेश, भारत, नेपाल र थाइल्यान्डबाट जम्मा ५० नामावली प्राप्त भएकोमा यी तीन विजेता छनोट भएका हुन् ।

विजेताहरूलाई श्रीलङ्काको कोलम्बोमा हुन लागेको डब्ल्यूएचओ दक्षिण–पूर्व एसिया क्षेत्रीय समितिको ७८औँ बैठकको अवसरमा सम्मान गरिनेछ।