काठमाडौँ, असोज ६ गते । पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच भएको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली खेलाडी सिएम पुरुषोत्तम सिलवालले रसियन ग्रान्ड मास्टरलाई हराउन सफल हुनुभएको छ ।
रुसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा सम्पन्न ११ चरणको ब्लिट्ज खेलमा नेपालका पुरुषोत्तम सिलवालले ६.५ अङ्क जोडेर उच्चस्तरीय खेल प्रदर्शन गर्न सफल हुनुभयो ।
नेपालका उदयमान २२२४ रेटेड सिएम पुरुषोत्तम सिलवालले नवौं चरणको खेलमा सेतो गोटीबाट खेल्दै रूसका २६१३ रेटेड ग्रान्ड मास्टर साइडाइपोभ झम्सारनलाई २८औँ चालमा नाइट एचफो चाल्दै माथ गर्नुभयो ।
युवा खेलाडी सिलवालले ५ मिनेट ३ सेकेन्ड इनन्क्रिमेन्टको छरिटो खेलमा फिलिपिन्सका इन्टरनेसनल मास्टर नाभा रोडेरिक सँग बराबरी खेल्नुभयो ।
यसअघि भएको र्यापिड खेलमा पनि सिलवालले इन्टरनेसनल मास्टर तथा वोमन ग्राण्डमास्टरलाई पराजित गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली टोलीका अन्य खेलाडीहरू शैलेन्द्र न्यौपानेले ५ अङ्क र महिला खेलाडी सिन्दिरा जोशीले ५ अङ्क बनाउनुभएको छ ।
यससँगै ब्लिट्ज विधामा नेपाली टोलीले समग्र १६.५ अङ्क जोडेर छैटौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । टोलीले र्यापिड स्पर्धामा पनि छैटौँ स्थान ओगटेको थियो ।