• ६ असोज २०८२, सोमबार

तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सेवासुविधा रोक्का, कर्मचारीलाई सेवाबाट बर्खास्त

blog

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भवन ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज ६ गते ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीहरूलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाले यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएका जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ । घटनाको छानबिन गर्न नगरप्रमुख शम्भुलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नगरपालिकाका नगरप्रमुख श्रेष्ठका अनुसार, तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा–सुविधा रोक्का गरिने छ भने कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने छ ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार, प्रमाण भेटिएका आधारमा उनीहरूमाथि कानुन अनुसार कारबाही गरिने छ । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना जनप्रतिनिधि र कर्मचारीहरू घटनामा संलग्न रहेको पाइएको नगरपालिकाले जनाएको छ । यद्यपि, अनुसन्धान चलिरहेकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।