बैतडी समाचारदाता
बैतडी, असोज ६ गते । दाइन–दमाहा बखर्ने पेसा सङ्कटमा पर्न थालेको छ । परम्परागत रूपमा छालाको काम गर्दै आएका शिल्पी समुदायको पेसाको संरक्षण नहुँदा पुराना पुस्तासँगै दमाहा बखर्ने सिप लोप हुन थालेको हो ।
आरनमा तामा पगालेर दाइन–दमाहाको स्वरूप तयार भएपछि छालाको काम गर्ने सार्की समुदायका व्यक्तिकहाँ लगेर गोरुको छाला मोरेर दमाहा बखर्ने काम सकेपछि मात्रै बाजा तयार हुन्छ । पछिल्लो समय नयाँ पुस्ताका युवा विदेश पलायन हुन थालेपछि दमाहा बखर्ने सिप लोप हुने अवस्थामा पुगेको शिल्पकार नरुवा भुलले बताउनुभयो ।
दशरथ चन्द नगरपालिका–४, बाडीलेकका नरुवा भुल बस्तीका एक्ला दमाहा बखर्ने शिल्पकार हुनुहुन्छ । यो पेसा अँगालेर जीविका नचल्ने भएकाले नयाँ पुस्ताले चासो नदिएको उहाँले बताउनुभयो । उहाँले एउटा दमाहा बखरेको सात सय रुपियाँ ज्याला लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा एक÷दुई चोटि मात्रै दमाहा बखर्ने काम आउने गरेको छ । नियमित काम नहुँदा हातमुख जोर्न धौ धौ हुन्छ । यो सिप सिकेर गुजारा नहुने भएपछि नयाँ पुस्ताले चासो दिएको छैन ।”
दमाहा बखर्ने समुदायलाई समाजले सम्मानका दृष्टिले नहेर्ने गरेको पनि उहाँको गुनासो छ । छालाको काम गरेकै कारण जातीय छुवाछुत हुने गरेको पीडा उहाँले सुनाउनुभयो । स्थानीय तहको सरकारले सिप र पेसाको संरक्षणका लागि योजना बनाउन नसके केही वर्षपछि जिल्लामा दमाहा बखर्ने मानिस भेट्न मुस्किल हुने उहाँले बताउनुभयो । दमाहा बखर्न गोरुको छाला आवश्यक पर्ने भएकाले केही कानुनी अडचनसमेत रहेको उहाँले बताउनुभयो ।
दमाहा ढोग्ने चलन
सुदूरपश्चिमका अधिकांश मन्दिरमा लाग्ने मेला, पर्वमा दाइन–दमाहा नभई पूजाआजा हुँदैन । दमाहालाई देउताको बाजाका रूपमा ढोग्ने चलनसमेत छ । यद्यपि दमाहा बखर्ने समुदायलाई भने जातकै कारण अधिकांश मन्दिरमा विभेद हुने गरेको शिल्पी समुदायका अगुवा राजुराम भुलले बताउनुभयो । दलित समुदायको पेसा र सिपको संरक्षण गर्न राज्य नै तयार हुनुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्म शिल्पी समुदायका परम्परागत सिपको पहिचान, संरक्षण र नयाँ पुस्तालाई सिप सिक्ने अवसरका लागि कतैबाट पनि योजना नबनेको यो समुदायको गुनासो छ ।