अर्जुन कार्की
काठेखोला (बागलुङ), असोज ६ गते । नवरात्र (बडादसैँ)को पहिलो दिन घटस्थापनाका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । सोमबार बिहानैदेखि कालिका भगवती मन्दिरको दर्शन गर्ने भक्तजनको भीड लागेको हो । गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका भएकाले बडादसैँ र चैतेदसैँमा देशभरिबाटै भक्तजन आउने गर्छन् ।
कालीकामा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ घटस्थापनाको दिन देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजनहरु पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि बडादसैँको पहिलो दिन मन्दिरमा भीड लागेको बताउनुभयो ।
मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि भएपछि व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन् । बडा दसैँभरि मन्दिरमा भक्तजनहरुको भीड हुनेहुँदा सुरक्षा व्यवस्था र भक्तजनहरुको व्यवस्थापनका लागि विशेष योजना बनाइएको अध्यक्ष खड्काले बताउनुभयो ।
मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित वरवधू, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ । पछिल्लो समय मन्दिरमा भारतीय भक्तजनको सङ्ख्या पनि वृद्धि हुँदै गएको अध्यक्ष खड्काले बताउनुभयो ।
मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।
कालीका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दसैँ र बडा दसैँमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक लबार, शनिबार र अष्टमीलगायत विभिन्न तिथिमा भक्तजनहरुको बढी भीड लाग्ने अध्यक्ष खड्काले बताउनुभयो । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाइ छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।