अनिल पराजुली
हेटौँडा, असोज ६ गते। नेपालीको मुख्य चाडपर्व दसैँको आगमनसँगै सेताम्मे काँस (कस्यान) फुलेको छ। बागमती, राप्ती नदी र खोलानालाको तटीय क्षेत्रमा बगर नै ढाक्ने गरी सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ।
मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारा तथा बागमती गाउँपालिकास्थित बागमती नदी किनारा क्षेत्रसँगै यहाँको खोलानालाको तटीय क्षेत्रमा फुलेको काँसले प्राकृतिक सौन्दर्य झनै बढाएको छ। मनै लोभ्याउने गरी खोलाको बगरमा सेताम्मे फुलेको काँसले यहाँ पुग्नेलाई प्रफुल्लित तुल्याउँछ।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले काँस स्वच्छताको प्रतीक भएको जानकारी दिँदै बाढी पहिरो नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। “काँसको जरा शक्तिशाली हुन्छ, बाढी पहिरो रोक्ने र लड्न सक्ने प्रकृतिको हुन्छ, गर्मी, सुख्खा, खडेरी र वर्षातमा पनि लहलह हुन्छ,” आचार्यले भन्नुभयो। काँसले नदीको बहाव र माटो जोगाउने कार्य गर्दछ।
वनस्पति विभागका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले मानवीय क्रियाकलाप कम हुँदा काँस उपयोगमा नआएकाले धेरै ठाउँमा फुलेको पाइएको बताउनुभयो। अहिले झाडी बन्ने क्रम बढेसँगै धेरै ठाउँमा काँस फुलेको उहाँको बुझाइ छ। काँसलाई अङ्ग्रेजीमा स्याकरम स्पोन्टेनियम (जङ्गली उखु) भनिन्छ। २०० देखि १७०० मिटरसम्म काँस पाउने गरेको उहाँले जानकारी दिनुभयो।