• २१ मङ्सिर २०८२, आइतबार

मार्तडी-कोल्टी सडक अवरुद्ध बनेको चार महिनापछि मर्मत सुरु

blog

बाजुराको मार्तडी कोल्टी सडक मर्मत हुँदै । तस्बिर सौजन्य : बुढी नन्दा नगरपालिकाको सचिवालय ।

शेरबहादुर सार्की 

बाजुरा, असोज ६ गते । बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको चार महिनापछि बल्ल मर्मत सम्भार काम सुरु गरिएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अछामले यहाँका पालिकालाई समन्वय गरेर विगत चार महिनादेखि अवरुद्ध भएको सो सडक दसैँ अगावै सञ्चालनमा ल्याउने गरी मर्मतको काम सुरु गरिएको हो । 

मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिकाका स्थानीयले जेठदेखि असोजसम्म मार्तडी आउन जान निकै सास्ती खेप्दै आउनुपरेको थियो । 

बुढीनन्दा नगरपालिका अधिकांश किसान फलफुल तथा तरकारी खेती गर्दै आएका छन् । उनीहरु प्रत्येक वर्ष त्यहि बिक्री गरेर दसैँको जोहो गर्ने गर्छन् । तर यता मार्तडी–कोल्टी सडक भने अझै अवरुद्ध बनेको छ । 

फलफुल पाक्ने बेलामा नै सडक अवरुद्ध हुने गरेकोले यहाँका स्थानीयलाई आफूले उत्पादन गरेका ती वस्तु कहाँ लिएर बिक्री गर्ने चिन्ता थियो । ढिलै भएपनि अहिले बाटो मर्मतको काम सुरु गरेपछि अहिले उनीहरुमा समेत बजारमा तरकारी लिएर बिक्री गर्ने आश पलाएको छ । 

भाौतिक पूर्वाधारको समन्वयमा असोज ३ गतेदेखि पालिकाको डोजरले कोल्टी मार्तडी सडक मर्मत कार्यको काम सुरु गरेको बुढीनन्दा नगरपालिका प्रवक्ता जङ्गवीर राकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले डोजरको प्रति घण्टा ७ हजार पाँच सय लिने गरेका छौं । तर भौतिक पूर्वाधारले भने ४ हजार सात सय मात्र दिने निर्णय गरेको छ । यो पैसा हामीलाई तेल हाल्नका लागि मात्र हुन्छ ।”

भौतिक पूर्वाधारसँगै स्थानीयको सरकारको पनि दायित्य रहेकोले हामीले यती बेला भौतिक पूर्वाधारकै समन्वयमा सहकार्यमा कोल्टीदेखि मार्तडीसम्मको सडक मर्मत गर्न सुरु गरिएको रोकायले बताउनुभयो ।

पानी पर्न नरोकिएकै कारण मार्तडी–कोल्टी सडक मर्मत गर्न सकेको थिएन । यती बेला पानी राकिएकोले मर्मत सम्भारको काम सुरु गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामका जङ्गबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सँग डोजर छैन । त्यसका लागि हामीले बुढीनन्दा नगरपालिकाको डोजर भाडामा लिने गरी पालिका सँग सम्झौता गरेका छौं ।” 

पालिकाले प्रति घण्टा डोजर चलाए वापत सात हजार पाँच सय भनेको छ । तर हामीले नेपाल सरकारको प्रचलित दर रेट अनुसार चार हजार ७४१.९३ का दरले नगरपालिकाको डोजर प्रयोग गरेवाफत दिने सम्भावता गरेको थापाले बताउनुभयो ।

मार्तडीदेखि कोल्टीसम्म झण्डै ४२ किलोमिटर मात्र सडक पर्छ । यसमा झण्डै १४ किलोमिटर बडीमालिका नगरपालिकाकै क्षेत्रमा पर्छ । यता बुढीनन्दा नगरपालिकाको  क्षेत्रमा २८ किलोमिटर पर्छ । बर्खाको पानीले यो सडक तहसनहस पारेपछि यहाँ चल्ने सवारी साधन विगत चार महिनादेखि मार्तडीमै रोकिएका छन् ।

गत जेठको अन्तिमदेखि जिल्लीमा गएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पानी पर्दै गरेको कारण त्यहाँ सफा गर्न सकिएको थिएन । यतिबेला यहाँका बुढीनन्दा बडीमालिका र भौतिक पूर्वाधार विकास कार्यालय अछामलाई दशैं अगावै बाटो सुचारु गर्ने गरी पहल गर्दै आएपपछि यतिबेला सडक मर्मत सम्भार कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो ।