• ६ असोज २०८२, सोमबार

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

blog

तनहुँ, असोज ६  गते ।  व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो ।  

करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “गत भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण खानेपानी पाइपमा नोक्सान हुँदा पानी वितरणमा कठिनाइ भोग्नुपरेको छ ।” खानेपानी वितरण सहज बनाउनका लागि प्राविधिकसहितका जनशक्ति परिचालन गरिएको छ उहाँले बताउनुभयो । 

उक्त संस्थाले छाब्दी मुहान, छाब्दी खोलामा दुई वटा लिफ्ट र खिरखादी गरी सानाठूला चार योजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार ६८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसम र वर्षायामको समयमा बाढी र पहिरोका कारण समय समयमा खानेपानी अवरुद्ध हुँदै आएको छ । 

समितिका अनुसार सानाठूला गरी चार वटा योजनाबाट प्रतिसेकेण्ड १५ लिटर पानी ट्याङ्कीमा सङ्कलन गरी उपभोक्तालाई वितरण भइरहेको छ । 

यस क्षेत्रमा बस्ती विस्तारसँगै पानीको अभाव भएपछि सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । रु १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको र हालसम्म ७० प्रतिशत कार्य प्रगति भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । 

निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेपनि अझै सम्पन्न हुन सकेको छैन ।  अध्यक्ष दरैले भन्नुभयो, “अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न गरी गार्ड हाउस र फिल्टर मिडियाको कार्य भइरहेको छ ।”  रासस