• ६ असोज २०८२, सोमबार

नेतान्याहुको बेलायत, क्यानाडा र अस्ट्रेलियालाई चेतावनी : “प्यालेस्टिनी राज्य हुनेछैन”

blog

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।

तेल अभिव (इजरायल), असोज ६ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिनुभएको छ ।

अमेरिका भ्रमणपछि औपचारिक जवाफ दिने घोषणा गर्दै नेतान्याहुले भन्नुभयो, “त्यहाँ प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको मुटुमा आतङ्कवादी राज्य निर्माण गर्ने प्रयास अस्वीकार्य छ ।” प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको उहाँले आरोप लगाउनुभयो ।

“अक्टोबर ७ को नरसंहारपछि प्यालेस्टिनी राज्यलाई मान्यता दिने नेतालाई मेरो सन्देश छ-तपाईंले आतङ्कवादलाई पुरस्कार दिइरहनुभएको छ । तर यो कहिल्यै सफल हुनेछैन”, नेतान्याहुले भन्नुभयो, “वर्षौंदेखि मैले आन्तरिक र बाह्य दबाबका बाबजुद आतङ्कवादी राज्य बन्न दिइनँ । हामीले यहुदिया र सामरियामा यहुदी बस्ती दोब्बर बनाएका छौँ र यो मार्गमा निरन्तर अघि बढ्नेछौँ ।”

अस्ट्रेलिया, क्यानाडा र बेलायतले संयुक्तरूपमा आइतबार प्यालेस्टिनी राज्यलाई मान्यता दिँदै दुई-राज्य समाधानको आह्वान गरेका थिए । यद्यपि, तिनीहरूले हमासको तत्काल अन्त्य हुनुपर्ने पनि जोड दिएका छन् । अस्ट्रेलियाको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलियाले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइनलाई मान्यता दिन्छ । यसो गर्दा, हामी प्यालेस्टिनी जनताको आफ्नै राज्यप्रतिको वैध र लामो आकांक्षालाई स्वीकार्छौं ।”

यसबिच, इजरायली विदेश मन्त्रालयले यस्ता घोषणाले शान्तिलाई कमजोर पार्ने र क्षेत्रलाई अझ अस्थिर बनाउने चेतावनी दिएको छ । मन्त्रालयको वक्तव्यमा भनिएको छ, “इजरायलले संयुक्त अधिराज्य र अन्य केही देशहरूले गरेको मान्यताको एकतर्फी घोषणा स्पष्टरूपमा अस्वीकार गर्छ । यसले शान्तिलाई प्रोत्साहन गर्दैन, बरु भविष्यमा शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाउँछ ।” रासस/एएनआई