कपिल ज्ञवाली
सिद्धार्थनगर, असोज ६ गते । रुपन्देहीको भैरहवामा ‘दसैँ सस्तो बजार– २०८२’ हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको परिसरमा बजार सञ्चालन गर्न लागेको हो ।
सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताउनुभयो ।
भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशीतथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दसैँ, तिहार, छठ लगायतका महानपर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
‘उपभोक्ताको सहजता र सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटिभी जडान, शुद्ध खानेपानी लगायतका सुविधा उपलब्ध गराइनेछ । दसैँ बजारलाई सफल बनाउन उद्योगी–व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सञ्चारकर्मी सबैको सक्रिय सहभागीताका लागि विशेष अनुरोध गर्दछौं,’ उहाँले भन्नुभयो।
संघले भैरहवामापहिलोपटक वि.सं. २०५८ सालमा दसैँ र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दसैँ बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दशैं सस्तो बजारमा सामानखरिद गर्दा बाहिर बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने बताउनुभयो ।