प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज ६ गते । जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम भदौ २८ गतेदेखि गौर नगरपालिकाभित्र पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माविसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो ।
शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि आज (सोमबार) बिहान ५ बजेदेखि लागू हुने उक्त निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो ।
जिल्ला कारागार गौरको सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले उक्त चार किलाभित्र निषेधाज्ञा जारी गरेको थियो ।
जेनजी आन्दोलनपछि जारी कर्फ्यु यस अघि नै हटाइएको थियो तथा रौतहटका अन्य भागको निषेधाज्ञा हटाउँदै गौरमा मात्र लागू गरिएको थियो ।