• ६ असोज २०८२, सोमबार

बिमा भुक्तानी समयमा नहुँदा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

blog

लक्ष्मी तिमिल्सेना
जमुनाह, असोज ६ गते ।
नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य बिमा बोर्डले पठाउनुपर्ने भुक्तानी समयमा नपठाउँदा सेवा प्रवाहमा समस्या आउने भएको छ । बिमा बोर्डले स्वास्थ्य बिमाका सेवाग्रहीको उपचार सेवा प्रवाह गरे बापतको करिब साढे १८ करोड र सामाजिक सेवा एकाइको डेढ करोड गरी २० करोड रकम भुक्तानी हुन नसक्दा सेवा प्रवाह नै प्रभावित हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

बिमा मार्फत सेवा लिन आउने सेवाग्राहीले भने आफूले पाउने सुविधामा महँगो औषधी नहुने, बाहिर किन्नुपर्ने, बिमामा सबै औषधी नपाउदा आफुहरु मर्कामा परेको गुनासो गर्नुभएको छ । चिकित्सकले लेखेको सस्तो औषधी मात्र बिमाले दिने तर महँगो औषधी बाहिर किन्नुपर्ने बाध्यता हटाउन सेवाग्राहीको माग छ ।

रुकुमबाट मिर्गौला प्रत्यारोपणका लागि नेपालगञ्ज आएका एक बिरामीले गुनासो गर्दै भन्नुभयो, ‘‘महँगो खालको औषधी नदिएको अवस्था छ । नेपाल सरकारले बिमा त गरिदियो, तर सबै औषधी उपलब्ध गराउन सकेन । म रुकुमबाट आएको हुँ । म मिर्गौला प्रत्यारोपणको बिरामी । त्यति टाढाबाट उपचार गर्ने आशाले आउँदा औषधी नै नपाउँदा हामीलाई झन् सास्ती भएको छ । यो सम्बन्धित व्यक्ति वा संस्थाले बुझ्नुपर्ने कुरा हो ।’’

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट गत असार मसान्तसम्मको साढे १६ करोड र साउन महिनाको करिब १ करोड ९० लाख गरी साढे १८ करोडको हाराहारीमा भुक्तानी पाउनुपर्ने बक्यौता भएको जानकारी दिनुभयो । उहाँले बोर्डबाट रकम आउन नसक्दा ल्याब र फार्मेसी सञ्चालन गर्न कठिन हुन थालिसकेको बताउनुभयो ।

डा. सुवेदीले भन्नुभयो, ‘‘असार मसान्तसम्म साढे १६ करोड थियो । साउन महिनामा एक करोड ९० लाख गरिकन साढे १८ करोड बिमा बोर्डबाट भुक्तानी हुन बाँकी छ भने  डेढ करोड चाहिँ विपन्न सेवाअन्तर्गत हामीलाई पैसा आउनुपर्ने हो । अहिले भेरी अस्पतालमा ६० प्रतिशतसम्म बिरामीले स्वास्थ्य बिमाअन्तर्गतको सेवा लिइरहेको अवस्था छ ।’’

भेरी अस्पताल नेपालगञ्ज सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले स्वास्थ्य बिमा बोर्डबाट समयमा भुक्तानी आउन नसक्दा अस्पतालका धेरै सेवाहरु प्रभावित हुने अवस्थामा आएको जानकारी दिनुभयो । पुरानो भुक्तानी दिन नसक्दा विभिन्न सप्लायर पार्टीले समेत सामान दिन बन्द गर्ने बेला भएको उहाँ बताउनुहुन्छ ।