शेरबहादुर सार्की
बाजुरा, असोज ६ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ ।
बाहुनीका झण्डै ३५ घरपरिवारले व्यावसायिक रुपमा प्याज खेती गर्दै आएका छन् । उहाँहरुको मुख्य पेशा प्याज खेती नै हो । तर उहाँहरुले राम्रो मेहनत गरेर उप्तादन गरेको प्याजले समयमै बजार पाउने गरेको छैन ।
समयमै बजार नपाउँदा तथा बजार पाए पनि त्यसले राम्रो मूल्य नपाउँदा अहिले यहाँका किसानले उत्पादन गरेको अर्गानिक प्याज विगत चार महिनादेखि गाउँमै थन्किएको छ। गाई गोरुको मल प्रयोग गरेर उत्पादन गरेको अर्गानिक प्याजले राम्रो मूल्य नपाउँदा गाउँमै थन्किएको डिबिएस कृषि पशुपंछी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालक वीरभान विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाहुनीमा प्याज राम्रो उत्पादन हुन्छ । प्याज राम्रो उत्पादन हुने गरेकोले अहिले यसलाई यो प्याज पकेट क्षेत्रका रुपमा विस्तार गर्दै आएको छ । यहाँ प्याज राम्रो उत्पादन हुने गरेको भए पनि किसानलाई भने बिक्री गर्न समस्या हुने गरेको छ । ”
राम्रो मूल्य पाउँनका लागि प्याज लामो समय स्टोर गर्नुपर्ने हुन्छ । तर त्यसका लागि चिस्यान केन्द्रको व्यवस्था हुनुपर्छ । त्यो यहाँ छैन । त्यसैले राम्रो मूल्यको पर्खाइमा प्याज गाउँमै सड्ने अवस्था भएको बिकले बताउनुभयो ।
यहाँका किसानले असोजमा बेर्ना राखेर मङ्सिरमा सार्ने गर्छन् । त्यसपछि त्यसलाई असारमा निकाल्छन् । करिब १० महिनाको लगानीपछि प्याज भित्र्याउने गर्छन् । उत्पादन गर्दा दश महिना लाग्ने गरेको प्याज बिक्री गर्दा त्योभन्दा बढी समय लाग्ने गरेकोले यतिबेला यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन् । गाउँमा प्याज केन्द्र मात्र स्थापना गरेको छ । त्यसमा लामो समयसम्म प्याज राख्न हुँदैन । त्यसका लागि चिस्यान केन्द्रको नै व्यवस्था हुनुपर्छ । अहिले सम्म त्यसको केही व्यवस्था गरेको छैन ।
यहाँका किसानले हिउँदे खेती गहुँ उत्पादन गर्ने ठाउँमा अहिले प्याज पकेट क्षेत्र बनाएका छन् । प्याज पनि राम्रो उत्पादन हुन्छ । यहाँ प्रत्येक वर्ष ४ देखि ५ सय क्विन्टल प्याज उत्पादन हुन्छ । तर त्यो प्याजले कहिल्यै पनि राम्रो मूल्य पाउने गरेकाे छैन ।
पहिला प्रदेशले ढुवानी अनुदान रोकिदिएको थियो । यतिबेला बल्ल त्यो खुलेको छ । यसका लागि यहाँका किसानले कार्यालयमा निवेदन गर्नुपर्छ । त्यसको म्याद असोज ८ गतेसम्म छ । त्यो दिनभित्र निवेदन दिएपछि हामीले अत्तरिया, सुर्खेत र नेपालगञ्जमा रहेका तरकारी पसलसम्म ढुवानीको व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।
गाउँमा एकदमै अर्गानिक प्याज उत्पादन भएको छ । तर त्यसले राम्रो मूल्य पाएन । किसानले राम्रो मूल्य पाउने गरी हामीले त्यसलाई केही समयसम्म टोर गर्न लगाएका थियौ । उहाँका अनुसार बजारमा प्याजको माग बढ्न थालेको छ । हामीले पनि प्याजलाई गाउँदेखि पीलिचौरसम्म ढुवानी गरिएको छ ।
त्यहाँदेखि पनि अनुदानको व्यवस्था गरेर सहरमा बिक्री गर्ने तयारी भइरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।