• ६ असोज २०८२, सोमबार

मटिहानी नगरपालिका-२ को कामकाज प्रभावित

blog

ट्राफिक प्रहरी कार्यालय जलेश्वरलाई सामान हस्तान्तरण गर्नुहुँदै बजाज सोरुमका सञ्चालक सन्तोष कुमार साह ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असोज ६ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा २ को कामकाज अहिलेसम्म सुचारु हुन सकेको छैन । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते मटिहानी नगरपालिका वडा २ को वडा भवनमा आगजनी गरिएको थियो । आगजनीको कारण भवनसहित त्यहाँको सम्पूर्ण कागजात तथा फर्निचरहरु समेत जलेकोले अहिलेसम्म सो वडामा कामकाज सुचारु हुन नसकेको हो। 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जेनजी आन्दोलनको क्रममा मटिहानी नगरपालिकाको वडा २, ३ र ४ मा तोडफोड, आगजनी गरिएको जानकारी दिनुहुदै अन्य वडाको कामकाज सुचारु भइसकेपनि वडा ३ को कामकाजमा समस्या देखिएको बताउनुभयो ।

मटिहानी नगरपालिकाको वडा ३ को वडा कार्यालयमा जेनजी आन्दोलनको बेला मानिसहरु प्रवेश गरी कम्प्युटर दुई थान, पंखा तिन थान, कुलर एक थान, सोफा चार थान, दराज चार थान, झयाल सात थान, मेनगेट एक थान तोडफोड गर्नुका साथसाथै कार्यालयको कागजातहरु बाहिर निकालेर च्यातिदिएर आगजनी गरेको जानकारी दिनुहुदै नगरप्रमुख मण्डलले भन्नुभयो, ‘आगजनी र तोडफोडका कारण सो भवन कामकाज गर्न नरहेको र तहाँ नजिकमा कार्यालय सञ्चालनको लागि भवन नरहेकोले कामकाज सुचारु हुन सकेको छैन ।’

उहाँले वडाबासीहरु तथा वडाध्यक्षसँग कामकाज सुचारुको लागि छलफल भइरहेको बताउनुहुदै चाँडै नै वडाको कामकाज सुचारु हुने बताउनुभयो । मटिहानी नगरपालिकाको वडा २ को वडा कार्यालयमा समेत आन्दोलनको क्रममा कम्प्युटर एक थान, सोफा पाँच थान, एसी दुई थान, स्टिल दराज दुई थान, झयाल चार थान तोडफोड गरिनुका साथसाथै कागजातहरुमा आगजनी गरिएको बताउनुहुँदै नगरप्रमुख मण्डलले सो वडाको कामकाज समेत त्यही रहेको स्वास्थ्य चौकीको एउटा कोठाबाट सुचारु भइसकेको बताउनुहुदै नगरबासीहरुको कामकाज सहजतापूर्वक गर्न÷गराउन नगरपालिका लागि परेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनको क्रममा नगरपालिकामा करौडौं रुपैया बराबरको क्षति भएको बताउनुहुदै नगरपालिकाको हरेक वडाको कामकाज प्रभावकारी बनाउन छलफल गरिरहेको जानकारी दिनुभयो । 

यसैबीच, जलेश्वरमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई बजाज सोरुमका सञ्चालक सन्तोष कुमार साहले विभिन्न सहयोगहरु गर्नुभएको छ । जेनजी आन्दोलनको क्रममा ट्राफिक कार्यालयमा गरिएको आगजनीमा कार्यालयको सम्पूर्ण ओढने, ओछयाउनेसहित कार्यालयको कुर्सी टेबुल समेत जलेको थियो । 

ट्राफिक प्रहरी कार्यालय जलेश्वरलाई बजाज सोरुमका सञ्चालक साहले पाँच थान डस्ना, चार थान तकिया, पाँच थान तन्ना, चार थान कुर्सी, चार थान झुल, तिन थान पंखा, एक थान प्लाष्टिकको कुर्सीसहित डिस्पेन्सर र अन्य स्टेशनरी सामानहरु सहयोग गर्नुभएको हो । 

आन्दोलनको क्रममा सम्पूर्ण सामग्रीहरु जलेको र यसले कामकाज प्रभावित भइरहेको जानकारी पाएपछि आफुले ट्राफिक प्रहरी कार्यालय जलेश्वरका प्रमुख रमेश कुमार श्रेष्ठलाई सो सामान हस्तान्तरण गरि सहयोग गरेको साहले बताउनुभयो।