प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज ६ गते । रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपियाँ ८८ पैसाको बजेट प्रस्तुत गरेको छ ।
नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम प्रस्तुत भएसँगै नवौं गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभयो ।
गाउँपालिकलाई धुवाँ मुक्त बनाउने, सुख्खाग्रस्तका कारण सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि बोरिङ्, हैण्डपाइप जडानलगायतका कार्य मुख्य प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभयो ।
विपद व्यवस्थापनलगायतका कार्यका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । विकास निर्माणसँगै सुशासन, पारदर्शिता कायमका लागि वेबसाइटमा हरेक गतिविधि प्रकाशन गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बहुमत सदस्यको आधारमा गाउँसभा नगरेर सर्वसम्मत रुपमा सम्पन्न गर्ने आफ्नो इच्छा रहेकै कारण निर्धारित समयभन्दा ३ महिना ढिलो हुन गएको बताउनु हुँदै प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले गाउँपालिका सबैको साझा रहेको र यहाँको विकासको लागि छनाेट भएर आउनुभएका सबै जनप्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा वडा ४ र ५ मा ग्याँस चुल्हो वितरण कार्य गर्ने योजना बनाएको छ । यसअघि नै वडा नं. १, २ र ५ मा ग्यास चुल्हो वितरण भएको तथा वडा ४ र ५ मा बाँकी रहेकाले दुई वटा वडामा चालु आर्थिक वर्षमा ग्यास चुल्हो वितरण गरिने दुर्गा भगवती गाउँपालिका –३ वडाका अध्यक्ष धर्मेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
वडा ३ मा कृषि विद्युतीकरण, स्वच्छ खानेपानी, छोरी संरक्षणलगायतका कार्यकम प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । ५ वटै वडाका लागि प्रतिवडा ३० लाखका दरले बजेट उपलब्ध गराइएको ३ नम्बर वडाका वडा अध्यक्ष झाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण भएसँगै दशैं बिदा हुनुअघि नै कर्मचारी, शिक्षकको २०८२ साउन भदौको तलब तथा दशैं खर्च उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।
दुर्गा भगवती गाउँपालिकाको गाउँसभा सम्पन्न भएसँगै रौतहटका १८ स्थानीय तहमध्ये देवाही गोनाही नगरपालिकाले मात्र हालसम्म बजेट ल्याउन सकेको छैन ।