• ६ असोज २०८२, सोमबार

बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज ६ गते । उत्तरी गोरखामा केही दिनदेखिको वर्षाले बेनिघाट–लार्के सडक अवरुद्ध भएको छ । धार्चे–३ तातोपानीदेखि दोभानसम्मको खण्डमा आधा दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

‘तातोपानीनेर दुई तीन ठाउँमा पहिरो खसेको छ । दोभाननेर दुईतीन ठाउँमा पहिराे गएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘गाउँपालिकाले पहिरो फाल्दै त छ तर कहिले पन्छ्याइसक्छ थाहा छैन ।’ बूढीगण्डकी जलविद्युत आयोजनाले पनि सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

‘गाउँपालिकाले बूढीगण्डकी जलविद्युत आयोजनालाई पनि अनुरोध गरेका छौँ, अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसअघि तातोपानी–दोभान खण्डमा झरेको पहिरो झण्डै एक महिनापछि बूढीगण्डकी जलविद्युत् आयोजनाले पन्छ्याएर सडक खुलाएको छ ।’

सडक अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिका आवतजावत गर्न कठिनाइ भएको छ । साथै धार्चे गाउँपालिकाको वडा १ र ३ को उहियाका बासिन्दालाई आवतजावत गर्न कठिनाइ भएको छ । साथै पर्यटकीय सिजन सुरु भएसंगै मनास्लु क्षेत्र तथा चुम उपत्यका आवतजावत गर्ने पर्यटकलाई पनि समस्या भएको गाउँपालिकाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा मनास्लु आरोहणका लागि अनुमति लिएका ३५० जनाभन्दा धेरै आरोहीको सामान ढुवानी गर्ने भरिया तथा खच्चडका लागि पनि सकस भएको छ । नेपालीहरुको महान् चाड दसैँको घटस्थापनासम्म पनि सडक मर्मत नहुँदा उत्तरी गोरखाका स्थानीयहरु चिन्तित भएका धार्चे – ५ स्थानीय युवा राज गोरखालीले बताउनुभयो ।

दसैँसम्म पनि सडक मार्ग खुलाइएन भने उत्तरी गोरखाका नागरिकहरु महँगो रकम तिरेर हेलिकप्टर चार्टर गरेर दशैं मनाउन घर जानुपर्ने बाध्यता हुन सक्ने बताइएको छ ।