• ६ असोज २०८२, सोमबार

नवलपुरमा यात्रु सहायता कक्ष स्थापना

blog

नवलपुरमा यात्रु सहायता कक्ष । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी 
मध्यविन्दु, असोज ६ गते ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबारबाट चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार, छठ पर्वलगायतका चाडपर्व लक्षित सुरक्षा योजना जसअन्तर्गत आजदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले कक्ष कावासोतीको फलफूलचोकमा यात्रु सहायता कक्षको उद्घाटन गर्नुभएको छ ।

उद्घाटनमा बोल्दै उहाँले सहायता कक्ष थापना मात्रै नभई प्रभावकारी रुपमा काम गर्न निर्देशन गर्नुभयो । यात्रु सहायता कक्ष स्थापनाले चाडपर्वमा यात्रा गर्ने यात्रुले कुनै पनि समस्या परेमा सहयोग पाएको र सन्तुष्ट भएको अनुभूति हुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले चाडपर्वका बेलामा हुन सक्ने पकेटमार, बढी भाडा असुल्ने, चालक सहचालकको अभद्र व्यवहार लगायतका क्रियाकलापलाई नियन्त्रण गर्नका लागि यात्रु सहायता कक्षले टेवा पुग्ने बताउनुभयो ।

सोमबार कावासोती, गैंडाकोट र दुम्किबासमा यात्रु सहायता कक्ष स्थापना गरिएको र मङ्गलबार चोरमारा, दलदले र अरुणखोलामा यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जाराले जानकारी दिनुभयो । यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जिल्लाको मुख्य मुख्य बजार क्षेत्रको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने बञ्जाराले बताउनुभयो ।

यसैगरी, चाडपर्व अवधिभर सादा तथा प्रहरी पोशाकमा प्रहरी परिचालन गरिने, विभिन्न आपराधिक क्रियाकलाप हुन नदिनका लागि दैनिक पैदल गस्ती, सवारी गस्ती, पिकेट, आवश्यकता अनुसार चेकजाँच गरिने, तोकिएको समयमा मात्रै देउसीभैलो सञ्चालन गर्न दिनका लागि भरपर्दो सुरक्षा प्रदान गरिने, समुदाय स्तरमा सचेतनामूलक जिङ्गल बजाउने माइकिङ गर्ने र सरोकारवाला सबै पक्षसँग समन्वय गरी शान्ति सुरक्षा व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।