• ६ असोज २०८२, सोमबार

एक वर्षमा पाँच लाखभन्दा बढी पर्यटक

blog

पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान ।

बुटवल समाचारदाता

बुटवल, असोज ६ गते  । सेनकालीन राजाको इतिहाससँग जोडिएको बुटवलको मणिमुकुन्द सेन उद्यानमा एक वर्षमै पाँच लाख ४७ हजार पर्यटकले भ्रमण गरेका छन् ।  आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख ४७ हजार पर्यटकले उद्यान भ्रमण गरेका छन् । त्यसमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य छ । उद्यान आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने रुपन्देहीको उत्कृष्ट गन्तव्यसमेत बनेको छ । 

लुम्बिनीपछिको धेरै पर्यटक आगमन हुने गरेको मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले दाबी गर्नुभयो । उद्यानमा आएका पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या २० प्रतिशत रहेको छ । खास गरी भारतको उत्तर प्रदेशका विभिन्न सहरमा अध्ययनरत विद्यार्थी यहाँ घुम्न आउने गरेका छन् । 

भारतको गोरखपुर, नौतनवा, अलिगढ, आजमपुर, सिद्धार्थनगरलगायतका सहरबाट विद्यार्थीलाई उद्यानमा अवलोकन भ्रमण गराउन ल्याउने गरिएको छ । उद्यानका अध्यक्ष नेपालले फूलबारीलाई व्यवस्थित गरी अझै आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन थप पूर्वाधार निर्माणको काम गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले उद्यानलाई ‘जियोलोजिकल रिसर्च सेन्टर’ का रूपमा विकास गर्ने योजना रहेको बताउँदै आगामी १५ वर्षमा उद्यानलाई बुटिक पार्कका रूपमा विकास गर्ने योजना सुनाउनुभयो । 

त्यसै गरी सो क्षेत्रमा व्यवस्थित चिडियाखाना बनाउने योजना रहेको छ । पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेन १५ औँ शताब्दीमा पाल्पाबाट जाडो छल्न यहीँ बुटवलको फूलबारीमा बस्ने गरेको र फूलबारीमा दरबारसमेत बनाएको इतिहासमा उल्लेख छ । पछिल्लो समय फूलबारी क्षेत्र पिकनिक, विवाह, भेटघाट र अन्य ऐतिहासिक सम्पदा अवलोकन गर्ने केन्द्रका रूपमा विकास भएको छ । गएको वर्षमात्रै फूलबारीमा पाँच सय वर्ष पुरानो शिवालय मन्दिर पुनर्निर्माण गरिएको थियो भने कुँडुले घर निर्माणलगायतका संरचना निर्माणको काम भएको थियो ।