विराटनगर समाचारदाता
विराटनगर, असोज ६ गते । विराटनगर महानगरपालिकाले आइतबारदेखि सेवा प्रवाह सुचारु गरेको छ । महानगरबाट प्रवाह हुँदै आएका सेवामध्ये निश्चित सेवालाई सुचारु गरिएको र क्रमशः थप सेवा सञ्चालन गर्दै लैजाने तयारी महानगरपालिकाको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवन र १९ मध्ये १३ वटा वडामा क्षति पुगेको थियो । महानगरपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने क्षति पुगेका १३ मध्ये छ वटा वडा कार्यालय आगजनीका कारण पूर्ण क्षति भएको महानगरपालिकाले जानकारी दिएको छ ।
यद्यपि महानगरपालिकाले विस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार महानगर र अधिकांश वडामा भौतिक क्षति पुगे पनि स्वास्थ्य जस्ता अत्यावश्यक सेवा कुनै पनि दिन रोकिएको छैन । अब अन्य अत्यावश्यक कामलाई प्राथमिकतामा राखेर सेवा सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले घटना भइरहँदा पनि २३ र २४ गते स्वास्थ्य सेवा बन्द गराएनौ । नगर अस्पताल रानीबाट दिइने स्वास्थ्य सेवा सुचारु नै थियो । २५ र २६ गते भने महानगरमा कुनै पनि काम हुन सकेन ।” हाल महानगरले अति आवश्यक सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । उपप्रमुख कार्कीले विदेश जाने विद्यार्थी वा नागरिकका लागि चाहिने सिफारिस, स्वास्थ्य उपचारका लागि आवश्यक कागजात र अन्य तत्काल गर्नुपर्ने कामलाई रोकिएको छैन । उहाँले भन्नुभयो, “हामीले मात्रै सेवा दिएर नहुने, प्रमुख जिल्ला अधिकारीको कार्यालयसम्म पुग्नुपर्ने सिफारिस जस्ता प्रव्रिmयागत काम भने अहिले रोकिएका छन् ।”
उपप्रमुख कार्कीका अनुसार महानगरका वडा नम्बर ४, ५, ६, ११ र १९ आगजनीबाट पूर्ण क्षति भएको छ भने अन्य वडामा तोडफोड गरी भौतिक पूर्वाधार र सामग्रीमा नोक्सान पु-याइएको छ ।
उहाँले क्षतिग्रस्त वडामा सेवा प्रवाह सहज बनाउन तत्कालका लागि प्रत्येक वडालाई दुई वटा डेस्कटप र एउटा प्रिन्टर उपलब्ध गराएर सेवा सुचारु लगाइसकेको बताउनुभयो । आइतबारदेखि राजस्व शाखाको काम सुरु भएको छ भने ७ गतेदेखि कानुन शाखाबाट दिइने सेवा पनि सुचारु गरिने छन् । कृषि शाखाबाट किसानलाई आवश्यक पर्ने मल, बिउ जस्ता सेवा पनि नरोकिने उहाँले स्पष्ट पार्नुभयो । दसैँपछि मात्रै महानगर पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन सक्ने उहाँको भनाइ छ ।
आगजनी र तोडफोडका कारण आर्थिक भार परे पनि नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीको दसै भत्तालगायतका सुविधामा कुनै कटौती नगरिने उपप्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरको पुनर्निर्माणका लागि स्थानीय उद्योगी, व्यवसायी र सङ्घ संस्थासँग छलफल सुरु गरिएको छ ।