• ६ असोज २०८२, सोमबार

सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’

blog

दोधारा चाँदनी (कञ्चनपुर),  असोज ६ गते ।  सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभुत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ । 

यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभुत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आउनु भएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउनुहुन्छ । “यहाँको मुख्य समस्या सडक हो । सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन”, उहाँले भन्नुभयो, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ ।” बस्तीमा खानेपानीको सुविधा छैन । 

गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा पढाइ छाडेर भारत जाने चलन छ । महेन्द्रनगर सदरमुकामदेखि करिब १३ किमि ब्रह्मदेवसम्म सुविधा सम्पन्न सडक छ । ब्र्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ । “वर्षातको बेला बाटो नहुँदा बिरामीलाई उपचार गराउन समस्या हुन्छ, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ”, स्थानीय लीला पुन मगरले भन्नुभयो, “विजुलीबत्ती र खानेपानीको सुविधा छैन ।” खानेपानी योजनाआएको पाँचवर्ष भयो तर अहिलेसम्म पूर्णता पाएको छैन । 

छ सय बढी जनसङ्ख्या रहेको यस वस्तीमा आधारभुत तहको विद्यालय बाहेक अरु कुनै सुविधा उपलब्ध छैन । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किलोमिटर पैदल हिँड्नुपर्छ । सडक राम्रो नहुँदा यहाँ एम्बुलेन्स समेत ल्याउन सकिँदैन । 

यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको धनगिरी चुनारा बताउनुहुन्छ । उहाँले गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा धेरै पटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पु-याएको बताउनुभयो । स्थानीयलाई यहाँ खेती गर्न सिचाँइसमेतको समस्या छ । 

वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवासुविधा समेत सहज रूपमा पाउन नसकेको स्थानीय रेखा विकको गुनासो छ । “गाउँगाउँमा सिंहदरवार आयो भन्छन् हामीले एउटा सिफारिसका लागि दुई घण्टा हिँड्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीलाई त आधारभुत सेवा सुविधा पाउनसमेत मुस्किल छ ।” रासस