• ६ असोज २०८२, सोमबार

गुल्मीमा बजार अनुगमन शून्य

blog

सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिका । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास (गुल्मी), असोज ६ गते ।
गुल्मीमा चाडपर्व नजिक आउँदा पनि बजार अनुगमनको अबस्था भने शून्य छ । चाडपर्वको मौका छोपी बजारमा अखाद्य वस्तुहरु बिक्री हुने, म्याद गएका समानहरु बिक्री वितरण हुनेसँगै कालोबजारी हुन सक्ने हुँदासमेत बजार अनुगमनमा भने सरोकारवाला निकाय मौन जस्तै गरी बसेको पाइएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुलाई चाडपर्व लक्षित बजार अनुगमन गर्नका लागि आग्रह गरेको बताउँदै उहाँहरुको नै मुख्य भूमिका हुने बताउनुभयो । जिल्ला प्रशासनको प्रतिनिधि मागेमा आफू जुनसुकै समयमा पनि प्रतिनिधि पठाउन तयार रहेको बताउनुभयो ।

दुई नगरपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा चाडपर्व लक्षित बजार  अनुगमन हुन सकेको छैन । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरी योजना बनाएको बताउनुभयो । बजारमा अखाध्य वस्तु बिक्री गर्ने र कालोबवारी गर्ने छुट कसैलाई नभएको बताउँदै कानुन विपरीतका कार्यहरु गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । कालीगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामीले घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजनमा बजार अनुगमन गर्ने गरी योजना बनाएको बताउनुभयो ।