प्रेमराज सिम्खडा
कालीकोट, असोज ६ गते । दशैं नजिकिँदै गर्दा कालीकोटको ग्रामीण सडक अझै पनि जिर्ण छन् । सडक मर्मत र सुधार नगरेकाले दशैँमा घर जाने यात्रुलाई दैनिक सास्ती भइरहेको छ ।
चाडपर्वमा गाउँ फर्कने र कृषिजन्य उत्पादन बजार पुर्याउने बेला पनि स्थानीय तहले सडक सुधारमा ध्यान नदिएको भन्दै सर्वसाधारण असन्तुष्ट भएका छन् । वर्षायाम सकिए पनि सडक खाल्डाखुल्डीले भरिएका छन् भने कतिपय स्थानमा हिलाम्य भएका कारण सवारी साधन नियमित सञ्चालनमा समस्या देखिएको छ ।
दशैंमा घर आउन–जान सजिलो हुन्छ भन्ने आशामा बसेका थियौं, तर सडक अवस्था झन बिग्रँदै गएको कालीकोटको रास्कोट नगरपालिका वडा २ का जनक खड्काले भन्नुभयो ।
खड्काले भन्नुभयो, “जनताले सडक सुधारका लागि पटक–पटक माग गर्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरू मौन बसिरहेका छन् । रास्कोट सरकार सामाजिक सञ्चालनमा हल्ला गर्छ, तर मूलसडक मर्मत नगर्दा वडा १, २ र ३ जाने नागरिक र छिमेकी गाउँपालिका जाने यात्रुले दुःख पाइरहेका छन् ।”
सरकारदेखि अहिले भोट दिनेहरु पनि पछुताएका छन् ।
शुभकालिका गाउँपालिका वडा २, ३ जाने सडक अबरुद्ध भएको चार महिना भयो । दशैँमा खुल्छ होला भनेर आसमा रहेका जिल्ला बाहिर पढ्ने बिद्यार्थी र स्थानीय निरास छन् । वडा ३ का खडानन्द अधिकारीले दशैँमा गाडी चढेर घर जाउँला सोचेको, त्यो सोच पूरा हुने छाँट नदेखिएको बताउनुभयो ।
नरहरीनाथ गाउँपालिकाको ब्यथा पनि उस्तै छ । नरहरीनाथ –५ का अडिक वोगटीले सडक मर्मत गरेको भए एकै दिन घर पुग्थ्यौं होला । तर मर्मत हुने नहुने केही निश्चित नभएकाले एक हप्ता अगाडि नै घरको बाटो लाग्नु पर्ने अबस्था आएको सुनाउनुभयो ।
यता स्थानीय तहका जनप्रतिनिधिहरूले भने बजेट अभाव, ठेक्का प्रक्रियामा ढिलाइ र प्राविधिक समस्या देखाउँदै सुधार कार्य अघि बढ्न नसकेको दाबी गरेका छन् । जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशवहादुर शाहीले कर्मचारीको ढिलासुस्ती, समयमा लागत अनुमान नगर्नु लगायत समस्याले समयमा काम हुन नसकेको बताउनुभयो ।