बेनी समाचारदाता
म्याग्दी (बेनी), असोज ७ गते । धवलागिरि हिमालको काखमा रहेको दुर्गम बस्ती बगरका स्थानीयवासी पहिरोले सडक बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । जेल्टुङ–नारउरा सडक अन्तर्गत लप्सीखोल्सामा पहिरोले सडक बगाएपछि जिल्लाको धवलागिरि गाउँपालिका–४, बगर र जेल्टुङका गाउँले डोरीको सहायताले जोखिम मोलेर भिर वारपार गर्न बाध्य भएका छन् ।
सडक पहिरोले बगाएपछि गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जान भर्याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यता भएको वडा नम्बर ४ का वडा सदस्य तथा बगरका स्थानीय हरिप्रसाद तिलिजाले बताउनुभयो । असार अन्तिमदेखि पहिरो जान थालेको र अहिले करिब आठ मिटर बाटो पूर्णरूपमा बगाएर लगेको उहाँले बताउनुभयो । दैनिक जसो सर्वसाधारण ओहोरदोहोर गर्ने बाटो पहिरोले बगाएपछि यहाँको जनजीवन नै कष्टकर बनेको छ । बजारबाट खाद्यान्नलगायतका सामान ढुवानी गरी गाउँमा पुर्याउनसमेत निकै गाह्रो हुन थालेको तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले सडक बगाएको दुई महिना जति भयो । सडक नहुँदा स्थानीयले ज्यानको जोखिम मोलेर डोरीको सहायताले आवतजावत गरेका छन् । सडक निर्माणका लागि स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन ।”
तिलिजाका अनुसार जेल्टुङ र बगरगाउँमा करिब ७० घरधुरीको बसोवास छ । सहरी क्षेत्रबाट चाडपर्व मनाउन गाउँ फर्कनेलाई बाटो जोखिमपूर्ण बनेपछि समस्या भएको छ । चक्रीय धवलागिरि पदमार्गले समेटिएको बाटो पहिरोले अवरुद्ध बनेपछि पर्यटकसमेत समस्यामा परेका छन् ।