• ६ असोज २०८२, सोमबार

बाल यौन दुराचार मुद्दामा फरार दुई अमेरिकी पक्राउ

blog

बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुईजना अमेरिकी नागरिक माइकल नर्मन टेलर र जेसन लायड मुडी ।

काठमाडौँ, असोज ६ गते । बाल यौन दुराचार र जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुईजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले विशेष सूचनाको आधारमा काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जबाट सोमबार (असोज ६ गते) उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कास्की जिल्ला अदालतको आदेश अनुसार बाल यौन दुराचार मुद्दामा कैद भुक्तान गर्दै आएका ७० वर्षीय माइकल नर्मन टेलर र काठमाडौं जिल्ला अदालतको आदेश अनुसार जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ४० वर्षीय जेसन लायड मुडी छन्।

उनीहरू विगत भदौ २४ गते आ–आफ्नो कारागार कास्की र जगन्नाथ देवलबाट फरार भएका थिए। पक्राउ परेका दुवैजनालाई सम्बन्धित कारागार बुझाउने प्रक्रिया भइरहेको सीआईबीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता धर्मराज भण्डारीले दुवै प्रतिवादी पक्राउ परेको र थप अनुसन्धान तथा कानुनी प्रकृया अघि बढाइएको जानकारी दिनुभयो।