राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), असोज ७ गते । पछिल्ला केही दिनदेखि सिद्धार्थ राजमार्ग भएर ओहोरदोहार गर्ने सवारी साधनको सङ्ख्या बढेको छ । मुग्लिन नारायणगण सडक खण्ड अस्तव्यस्त भएसँगै पश्चिम जाने यात्रु र सवारी साधनको रोजाइमा सिद्धार्थ राजमार्ग परेको हो ।
सवारी साधान र यात्रुको चाप बढेसँगै सिद्धार्थ राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका हुन् ।
सिद्धार्थ राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सहजतका लागि जिल्ला सदरमुकाम स्याङ्जा, वालिङ, गल्याङ, भीरकोट लगायतका ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
चाडवाडका बेला यात्रुहरूको चाप बढ्ने र यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने लक्ष्य अनुसार ट्राफिक प्रहरीले राजमार्गसहित भित्री सडकमा यात्रु सहायता कक्ष स्थापना गरिएको न्यौपानेको भनाइ छ । यात्रुले सुरक्षित र सहज यात्रा गर्न पाउन् भनेर सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शुभारम्भ गर्नु भएको हो । चाडवाडका बेला यात्रुलाई ठग्ने, महँगो भाडा लिने, असुरक्षित यात्रा गराउने लगायतका कानुन विपरीत कार्य रोक्न यात्रु सहायता कक्षले भूमिका खेल्नेमा आफु विश्वस्त रहेको प्रजिअ अर्यालले बताउनुभयो ।