प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज ७ गते । रौतहटको माधवनारायण नगरपालिकाले सिँचाइका लागि कृषकलाई पम्पसेट उपकरण सहयोग गरेको छ ।
बाढी प्रभावित घरपरिवारको कृषि पुनस्र्थापना र सहनशिलता प्रवर्धन परियोजना अन्तर्गत नगरपालिकाका वडा ८ र ९ का ५० जना कृषकलाई सिँचाइ सामग्री वितरण गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत ८ नं. वडामा ३२ जना कृषकलाई र ९ नं. वडामा १८ जना कृषकलाई पम्पसेट, डेलिभरी पाइप वितरण गरिएको परियोजनाका कृषि अधिकृत बिबेक रौनियारले जानकारी दिनुभयो । बोरिङ्ग यसअघि नै जडान भइ सकेको उहाँले बताउनुभयो ।
परियोजना अन्तर्गत वडा ८ मा १६ वटा कृषक समुह र वडा ९ मा ६ वटा कृषक समुह रहेको छ । वडा ८ मा प्रति समुह २ जनालाइ र वडा ९ मा प्रति समुह ३ जनालाई पम्पसेट उपलब्ध गराउने निर्णय समुहले गरेको नगरपालिकाका कृषि शाखा अधिकृत अनुजकुमार झाले जानकारी दिनुभयो ।
पम्पसेट हेरचाहका लागि तीन सदस्यीय समिति समेत बनाइएको उहाँले जानकारी दिनुभयो । सिँचाइ सामग्री वितरणले कृषिमा ठुलो सहयोग पुग्ने तथा यसले कृषकको जीवनस्तर माथि उठ्ने विश्वास रहेको वडा ८ का वडाध्यक्ष योगेन्द्रप्रसाद महतोले बताउनुभयो ।
सिँचाइ सामग्री लिनुहुँदै वडा ८ का राधाकृष्ण कृषक समुहका सदस्य कोशीला देवीले कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्दै कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने नगर प्रमुख यादवको प्रयास सराहनीय रहेको बताउनुभयो ।