• ७ असोज २०८२, मङ्गलबार

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

blog

चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना बारेमा जानकारी गराइँदै ट्राफिक प्रहरी ।

अस्मिता पोखरेल 

धादिङबेंसी, असोज ७ गते । जिल्ला सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धादिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो । 

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था गर्न नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले बताउनुभयो । 

प्रहरी उपरीक्षक रिजालका अनुसार यात्रा गर्ने क्रममा नागरिकले सवारी सञ्चालकबाट गरिएका लापरबाहीसहित यात्राका क्रममा हुनसक्ने झै–झगडा, चोरी, लुटपाट, दुव्र्यवहार, ठगीलगायतका विषयमा पनि उजुरी समेत गर्ने व्यवस्था गरिएको छ । 

चाडपर्वका बेला हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । जिल्लामा चाडपर्वको समयमा सवारीसाधनले अव्यवस्थित रूपमा यात्रु ओसारपोसार गर्ने गरेका छन् । यसले दुर्घटनाको जोखिम बढाउने भएकाले कक्ष स्थापना गरिएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।