गोकर्ण पौडेल
तुलसीपुर, असोज ७ गते । जेएनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मङ्गलबारदेखि सेवा सुरु गरेको छ । कार्यालयले तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनका अनुसार तत्कालका लागि करदाता सेवा र राजस्व सम्बन्धी सेवा सुरु गरिएको हो । कार्यालय अन्तर्गत दाङ, रोल्पा, सल्यान, प्यूठान र पूर्वी रूकुमका ३५ हजार बढी करदाता रहेका छन् ।
आन्दोलनका क्रममा दुई वटा भवन, दुई वटा गाडी र कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए । तुलसीपुर उद्योग वाणिज्य सङ्घले तत्कालका लागि निशुल्क कोठा उपलब्ध गराएको उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख श्रीधर टण्डनका अनुसार क्षतिग्रस्त अवस्थामा पुगेको भवनमा बस्न नमिल्ने प्राविधिक टोलीले सुझाव दिएको बताउनुभयो । आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेको तुलसीपुर उपमहानगरपालिकाले त्रिपाल टागेर सेवा दिएको आएको छ भने यातायात व्यवस्था कार्यालयले बुधबारदेखि सेवा सुरु गर्ने भएको छ ।
तुलसीपुर क्षेत्रमा आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, इलाका प्रशासन कार्यालय, सिचाई डिभिजन कार्यालय, भू जलाधार कार्यालयमा आगजनी हुँदा क्षतिग्रस्त अवस्थामा पुगेका छन् ।